के भाषण गर्दैमा भ्रष्टाचारको अन्त्य हुन्छ ?

नेपालमा पछिल्लो समय भ्रष्टाचार अन्त्य र सुशासनका भाषण निकै गरिने गरेका छन । सबै जसो दल , नागरिक समाज , बौद्धिक ब्यक्तित्व , यति सम्म कि स्वयं भ्रष्टाचारीले समेत भ्रष्टाचारको अन्त्य र सुशासनका कुरा गर्ने गरेका छन । तर भ्रष्टाचारको जड के हो ? र त्यसको अन्त्य कसरी गर्ने भनेर ठोस रुपमा कसैले भन्ने गरेका छैनन । अहिले त भ्रष्टाचारको अन्त्यको भाषण केवल फेसन मात्र भएको छ । नेपालमा पछिल्लो समय भएका भ्रष्टाचारका काण्डहरु हेर्ने हो भने सबै जसो भ्रष्टाचार राजनीतिक नेतृत्व र कर्मचारी तन्त्रको मिलोमतोमा हुने गरेका छन । कयौ बिषयमा त नीतिगत भ्रष्टाचार समेत हुने गरेको छन । त्यसैले यदि भ्रष्टाचारको साँच्चै अन्त्य गर्ने हो भने यसको छानबिन राजनीति नेतृत्व र अरु पनि यस्तै सार्वजनिक नेतृत्वमा बस्ने सबैको सम्पत्ति छानबिनबाट सुरु गर्नु पर्दछ । त्यो छानबिन राजनीतिज्ञ , न्यालय ,प्रहरी प्रसासन ,बिभिन्न संबैधानिक आयोगमा बस्ने ब्यक्तिहरु सबैको गर्नु पर्दछ । अहिले पछिल्लो समयमा भ्रष्टाचार अन्त्य गर्ने हो भने २०४६ साल पछि सार्वजनिक पदमा बस्ने सबैको सम्पति छानबिन गर्नु पर्ने बिषय पनि उठ्ने गरेका छन । अब साँच्चै भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने अधिकार सम्पन्न जनलोकपाल गठन गरि सबै सार्वजनिक पदमा पुगेकाहरुको सम्पति छानबिन गर्नु पर्दछ । र दोषीलाई कारवाही गर्नु पर्दछ ।
भ्रष्टाचारीलाई कारवाही गर्न भनेर अख्तियार , बिशेष अदालत त छन तर यी ब्यबहारीक रुपमा स्वतन्त्र र निष्पक्ष छैनन । यी निकायलाई भ्रष्टाचारीलाई छानबिन गर्ने प्रयाप्त अधिकार पनि छैन । यी निकायमा जानेहरुको नियुक्ति पनि सरकारमा जो छ उसको अनुकुल हुने गर्दछ त्यसैले ती निकायका पदाधिकारी उपर सत्ताको छाँया पर्ने गरेको छ । अर्कोतर्फ यी निकायले छानबिन गर्दा नेपाल प्रहरीको सहयोग लिनु पर्दछ । प्रहरीले गृहमन्त्रीले जे भन्दछन त्यो मान्नु पर्दछ । मुद्धा चलाउने सरकारी वकिलले हो उनीहरु महान्याधिबक्ताको मातहतमा हुन्छन । त्यसैले उनीहरुले पनि स्वतन्त्र भएर काम गर्दछन भन्न सकिदैन ।
त्यसैले साँच्चै भ्रष्टाचार अन्त्य गर्ने हो भने सत्ता र सरकारको छाँयाँबाट मुक्त अधिकार सम्पन्न निकाय बनाउनु पर्दछ । जो आफैमा अधिकार एवं साधन स्रोतले सम्पन्न होस । जसलाई जो भ्रष्टाचारी ठहर हुन्छन तीनीहरुको सम्पत्ति जफत गरि त्यस्ता भ्रष्टाचारीलाई जेलमा पुराउने अधिकार होस र राष्ट्रपति ,प्रधानमन्त्री, प्रधानन्यायधिस सबै माथि छानबिन गर्ने पाओस । अनि अहिलेकामात्र होईन सबैकाल र समयका भ्रष्टाचारका घटना छानबिन गर्न पनि सकियोस ।