चैत्रशुक्ल प्रतिपदादेखि रामनवमी सम्मको ९ दिनलाई वासन्ती नवरात्रि भनिन्छ । वर्षभरि ४ नवरात्रि हुन्छन् । आषाढ शुक्ल, आश्विन शुक्ल, माघशुक्ल र चैत्रशुक्ल । चैत्र शुक्ल मूल नवरात्रि हो, पहिले बडा दसैँ यति बेला नै थियो, पछि सहजताको लागि असौजमा सारियो, आश्विन शुक्ल देवी दुर्गाको धर्ती अवतरित समय हो । नवरात्रि ८० को पूर्व सन्ध्या पंक्तिकारले अर्घाखाँचीको सुपा देउराली र नवलपरासीको मौलाकाली दर्शन र त्यहाँको अध्ययनको विषय बनायो । साथमा रहे बौद्ध पानी ट्याँकी युवा समाजका मित्रहरु ।
हाम्रो समुहले सजिलै दर्शन गरेको हो मन्दिरको, बलिको आहाल नै देखियो । यात्रा समूहको नेतृत्व थर्दै थिए युवावयका उमेश सापकोटा । दर्शनपछि म भने देवीका विषयमा आफूले जानेका विषय प्रस्तुति प्रवचनतिर लागेँ । प्रवचनको क्रम हिजोदेखि नै भनौँ इच्छाकामना मन्दिरको सत्संगदेखि नै थियो, मनकामनाको कुरिनटार, अर्को नाम इच्छाकामना । सर्वप्रथम त नाम सुपा नभएर शूर्पणहस्त देवी हो, अपभ्रँश र सजिलोका लागि मान्छेले आफ्नै तरिकाले नाम राख्दै आयो । सुपा भनियो, सन्धिखर्क नपुग्दै बीचैमा पर्छ यो गोरुसिँगेबाट हैँ हैँ गर्दै हाम्रो यात्रा तय भएको हो ।
शुक्ल यजुर्वेद २३।५४ मा प्रवेश गर्दा यस्तो लेखिएको भेटिन्छ ।
ॐ द्यौरासीत् पूर्वचित्तिरश्च आसिद वृहद्वय: । अविरासीत् पिलप्पिला रात्रिरासीत् पिशँगिला ।। वन्दना : ॐ सोमेश्वराँग निल्याँ शशाँककृत शेखराम् । नमामि शूर्पहस्तातां नर्तनाचलवासिनम् ।। ॐ अर्यां सोमेशभार्यां हिमरुचिमुकुटाँगौरवर्ण त्रिनेत्रम् । सिँहाननद्या तटस्थांरिपुदलनकरीँ शूलिनीं शूर्पहस्ताम् । भक्तानां कष्टहर्तीं त्रिभुवन जननींनित्यकारुण्यरुपम् । वन्देहँ नर्तनाद्रेः शिखरविलसितां भक्तकामप्रदांत्वम् ।।
साँच्चै देवीको वन्दनाले पुष्टि गर्छ: शूर्पणहस्त देवीले सबैको भय दुरु गर्छिन्, कष्ट हर्छिन्, रोग हर्छिन्, धनले भरिदिल्छिन् । भक्तहरुको अचम्मको भीड देख्दा यी भनाइमा पत्याउने आधार धेरै रहे । बाटैमा हरि ॐ खोला छ । नेपालको हरेक जल, स्थल कणमा देवता बसेका छन् देश भने पत्याउँदैन यो कुरा र रात रातै तालीबजाएर धर्म निरपेक्ष भन्छ । निरपेक्षको अर्थ अपेक्षा नराख्ने हुन्छ तर मन्दिरमा माला लगाउन भने देशैभरिका ठूलाहरु मठ मन्दिर धाइरहेका देखिन्छन् । गोरुसिँगेबाट उकालीलाग्दा पंक्तिकारलाई केही वमन भयो, कसैलाई थाहा नदिई व्यवस्थापन गरियो ।
सन्धिखर्कबाट ३७ कि मि दूर रहेकी सुपा दर्शन र सत्संगपछि हामीले सित् खोला र सुपाखोलाको संगममा बसेर खाना खायौँ, वरिपरिको बस्ती र भूगोल हेर्दा सिँगो नेपाल र साँचो नेपाल यथार्थ देश यहीँ छ जस्तो भान हुन्थ्यो, टिनका एक तले घरहर, अन्यत्र बनावटी मात्र । फर्कँदा अघि वमन भएको क्षेत्र त्यसैक्षेत्रमा पुगेपछि संगै गएकी सरस्वती बहिनी हल्का बिरामी परिन्, बसभरि हल्लीखल्ली भयो, बुझ्दा प्रेसर कमी भएको भनाइ आयो, वृद्धहरु त सकुशल नै रहेका थिए ।
थप चर्चा गरौँ मौलाकालीको । सुपापछि हामी फर्कियौं वर्दघाट हुँदै परासीको मौलाकाली, हिमवत् खण्डका रुपमा परिचित नेपाल राष्ट्रको मध्य भूभाग, ऋषिमुनिहरुको तपोभूमि देवघाटक्षेत्र परिसर नवलपरासी, त्यो बेलाको गैंडाकोट गाविस पूर्वपश्चिम राजमार्ग नारायणी पुलबाट उत्तरतिर करीब ४ किमि टाढा समुद्र सतहदेखि ५६१ मि पहाडी धुरीमा रहेको सुप्रसिद्ध तीर्थस्थल, शक्तिप्रवल मौलाकालिका देवीको मन्दिर चित्ताकर्षक छ । करिब ५ सयवर्ष पहिला वि.सं.पन्ध्रौं शताब्दीतिर पाल्पाका राजा मणिमुकुन्दसेनको राज्यकालमा तत्कालिन सैनिक टुकडीले आफ्नो व्यारेकमा काठको मौलो गाडी शिला स्थापना गरी पूजा अर्चना गर्दै आएको र ती राजाको अन्त्यपछि स्थानीय पिनाली र सुनारी मगरले पूजा चलाएको किम्वदन्ती भेटिए ।
पछि स्थानीय गाउँलेहरुले आलोपालो पूजा चलाए । पहिला त्यहाँ ठूलो सालको रुख, अहिले पनि घनाजंगल सालकै हो । सालको रुखसँगै जोडिएको मन्दिरमा ऐतिहासिक संरचनाहरु छरपष्ट छन् । कालान्तरमा गाउँका आदिवासीहरु बसाइँ सरे, मन्दिरको पूजा पाठ रोकियो । वि.सं.२०३२ मा गैंडाकोट निवासी काशीनाथ पौडेलले सपनामा मौलाकालिको दर्शन पाए, यसपछि स्थानीय व्यक्ति कुमान सिंह गुरुङले सो स्थलमा खनेर हेर्दा धमिराले खाएको काठको मौलो देखे । गोलाकार शिलाहरु भेटिए, घण्टी पनि ।
अब स्थानीय वासिन्दाहरुले त्यहाँ सानो मन्दिर निर्माण गरे, र वडादसैं, चैत्रदसैं पर्वमा पूजाआजा सुरु गरे । वि.सं. २०३७ श्री कृष्णजन्माष्टमीको समय पारी अखण्ड भजन किर्तन सम्पन्न गरेर धार्मिक सेवासमितिको तय भयो । वि.सं. २०३२ पछि निरन्तर ब्राह्मण पुजारीको व्यवस्था भयो, वि.सं. २०४३ देखि हप्ताको २ दिन शनि र मंगलबार पूजा गर्ने व्यवस्था सुरु भयो, वि.सं. २०४४ देखि आवासीय पुजारीले दैनिक पूजा संचालन गरे, ६४ देखि आवासीय दुई पुजारीले नित्य पूजा संचालन गरे, सात्विक पूजा हुने त्यहाँ अन्यत्रभन्दा फरक काटमार वली दिने चलन छैन ।
वि.सं. २०३२ मा बनेको सानो कच्ची मन्दिर वर्षाको कारण भत्कियो, वि.सं. २०४२ मा एक टिनको छानो भएको सानो मन्दिर बनाइयो, भक्तजनको भीड पछि २०५१ सालमा प्रहरी तालिम केन्द्र चितवनको समेत अग्रसरता, श्रद्धालु जनता, संघसंस्था, उद्योगी व्यवसायीहरुको सक्रियतामा ३ ढोका भएको ३ तले पक्की मण्डप शैलीको मन्दिर तयारी, २०५३ चैत्रमा समुद्घाटन सम्पन्न भयो । देउराली भन्ज्याङ सिंढीमार्गमा देउरालीदेवीको खुला मन्दिर, मूल मन्दिर परिसरमा हवन कुण्ड, भैरवको मन्दिर, शिव, तुलसीमठ, मूल प्रवेश ढोकामा गणेश र सरस्वतीका मूर्तिहरु राम्रो सजिएको छ ।
मन्दिर परिसरमा छाताजस्तै फैलिएको डमराहीका बुटा थिए रे पहिले, भक्तजन यही डुमरीका बुटामुनि रात बिताउँथे रे, पानीको सुविधा थिएन । माथि चौतारी, विश्रामस्थल, विजुली, पानी टंकी सार्वजनिक शौचालय, एटेच बाथरुमसहित बस्ने कोठाहरुको राम्रो प्रबन्ध पनि, एकै पटक १५० जना जति बस्न सक्ने कोठाहरुको व्यवस्थापनि । नेपालप्रहरी, देवघाट क्षेत्र विकास समिति, सैनिक र सर्वसाधारणको सहकार्यमा धेरै विकास निर्माण भएको देखियो ।
शक्तिस्वरुपा मौलाकालिका भगवतीको पूजाअर्चना, उपासना गर्नाले आत्मसन्तुष्टि, आत्मआनन्दको अनुभूति हुन्छ, दुःख, आपत् आइलाग्दैन । संकट नाशिनी देवीको चर्चा कालिका पुराण, दुर्गा शप्तशती, देवीभागवत आदिमा प्रसस्त चर्चा भएको छ । सहनशक्ति बढाउने देवी अष्टभुजा देवीको चर्चा अघि गुरु शंकाराचार्यले पनि गरेका थिए । छिमेकी राष्ट्र भारतबाट यहाँ आउनेहरुको भीड देखिन्छ । भाकल पूरा गरिदिने देवी भनेर देवी पीठहरुको दर्शन गर्ने चलन यत्रतत्र रहेको छ । शक्ति भक्तिले सम्पन्न देवीको दर्शन गर्न सेना, प्रहरी, सर्वसाधारण, राष्ट्रसेवक युवायुवती, बाल वृद्ध जन सबै किसिमका व्यक्तिहरु पुग्ने गर्छन् । हराएका मानिस भेटिने, परीक्षा उत्तीर्ण हुने व्यापार व्यवसाय फस्टाउने उद्देश्यले पनि त्यहाँ जानेहरुको भीड देखिने गर्छ ।
सन्तान प्राप्तिको इच्छा गर्नेहरु, रुप, लावण्य प्राप्तिकालागि मनरोग निवृत्तिका लागिपनि देवी उपासना गर्नेहरुको घुइँचो लाग्ने गरेको छ । साधु सन्तहरुको पनि उपस्थिति रहेको त्यस क्षेत्रमा भारतीय योग गुरु रामदेव पनि पुगेका थिए । उनैले २०६४ साल असोज १० गते देवीको पूजा गरेर शक्ति स्वरुपा मौलाकालिका देवी रहेको सार्वजनिक घोषणा गरेकाथिए । वि.सं. २०६७ मा कात्तिक २७ गते ताइवानबाट आएका पाचौँ अवतारी लामा गुरु रानग टुल्कु रिन्चेन रिम्पोचेबाट पनि पूजा अर्चना भएको थियो ।
ध्यानमा बस्दा देवीको प्रत्यक्ष दर्शन पाएको उनले बताएका थिए । २०६७ मार्ग १४ मा यहाँका राष्ट्रपतिले दर्शन गरेकाथिए, नवनिर्मित हवन कुण्डको प्रतिष्ठा, अनावरण, उद्घाटन गरेकाथिए । चितवनको राष्ट्रिय निकुन्ज सौराहा, टाइगरटप आदिको अवलोकन, वनजंगलको हराभर क्षेत्रको अवलोकन, तराईका समथर फाँटहरुको दृश्यावलोकन रमणीय छ । अब त केवुलकार पुगिसकेको छ, सहज छ सबै उमेरका लागि ।


















