सरकारी अस्पतालमा अब शनिबार-आइतबार दुई दिन बिदा

 सरकारले अब सरकारी अस्पतालहरूमा पनि हप्तामा दुई दिन शनिबार र आइतबार बिदा लागू गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै यो व्यवस्था सबै सरकारी अस्पतालमा लागू हुने स्पष्ट गरेको हो । बिदाका दिनमा बहिरंग (ओपिडी) सेवा बन्द रहनेछ भने आकस्मिक तथा अत्यावश्यक स्वास्थ्य सेवा भने २४ घण्टा सञ्चालनमै रहनेछ । मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। स्वास्थ्य सेवामा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै अस्पतालहरूले वैकल्पिक सेवा व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

बिदाका दिन बिरामीलाई समस्या नपरोस् भनेर आवश्यक परे नजिकका अस्पतालमा रेफर गर्ने र एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशन दिएको छ । साथै, सेवासम्बन्धी जानकारी वेबसाइट र सूचना प्रणालीमार्फत उपलब्ध गराउन पनि भनिएको छ । मन्त्रालयले अस्पताल सुधार कार्यविधि २०८२ कार्यान्वयन गर्दै आगामी दिनमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइने जनाएको छ।

671132313_1270711225194925_7950881354154657255_n-1776422164.jpg