बर्तमान सत्ता समीकरण परिवर्तनको खेल सुरु

बामपन्थी गठबन्धन बनेको डेढ महिना नवित्दै गठबन्धन भत्किन थालेको छ । प्रचण्ड र के पी ओलीको चाहना बिपरित सुदूरपश्चिम प्रदेशका चौथो मुख्यमन्त्री दीर्घ सोडारी बनेका संगै बाहिर ठिक देखिए पनि भित्रि रुपमा सत्ता गठबन्धनमा संकट देखिएको हो । बन्न त उनी नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी स्वतन्त्र र एकीकृत समाजवादी पार्टीको सर्मथन जुटाएर मुख्यमन्त्री बनेका छन तर यो समर्थन मनलागेर भन्दा पनि जबर जस्त हो ।
अब प्रचण्ड सरकार कति बेला कसरी ढल्ने हो भन्ने अवस्था आएको छ । प्रधानमन्त्री प्रचण्ड र सत्ता गठबन्धनको सवैभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी ओलीले ०८४ सालको चुनावसम्मै यही सरकार रहने बताईरहे पनि उनीहरुलाई गठबन्धन ८४ सम्म पनि चल्ने हो कि होइन भन्ने लागिसकेको छ । त्यही भएर विशेष गरी ओली पछिल्लो समय निकै हतास देखिन थालेका छन् ।
गत फागुन अन्तिम साता यो गठबन्धन बन्दै गर्दा देखिनै प्रधानमन्त्री प्रचण्डको सत्तायात्राको दिनगन्ती शुरु भयो भनेर हाम्रो दाबि थियो । अहिले हाम्रो त्यही अवधारणालाई पुष्टि गर्ने गरी पछिल्ला दिनहरुमा राजनीतिक खेल घनिभूत रुपमा अघि बढिरहेको देखियो छ । सायद अब धेरै लामो समय प्रचण्डको नेतृत्व सरकारमा रहिरहने संभावना ज्यादै क्षीण देखिएको छ । राजनीतिक खेलले प्रचण्डलाई सरकारबाट मात्रै झार्छ कि अझै बढी धक्का दिन्छ भन्ने चाहीँ निक्र्यौल हुन बाँकी नै छ ।
प्रतिनिधिसभामा दश सिट मात्रै रहेका माधव कुमार नेपालले नै अहिले ओली र प्रचण्डलाई हायलकायल पारिदिएका छन् । प्रचण्डको अनुनय विनय र ओलीको आत्मसमर्पण टार्न नसकेर मात्रै यो गठबन्धनमा तानिएका माधव नेपाल ओली–प्रचण्डलाई देखाईदिने मुडमा पुगेपछि उनीहरु अहिले थोरै शान्त बनेका छन् । सुदूरपश्चिममा नेकपा एसलाई मूख्यमन्त्री दिने सहमति ओली–प्रचण्डले तोड्ने वित्तिकै माधव नेपालले त्यहाँ कांग्रेससंग हात मिलाईदिए र रेशम चौधरीका उम्मेदवारलाई समर्थन दिने निर्णय गरे । तर पछि त्याहाँ उनकै पार्टीबाट मुख्यमन्त्री बने । त्यती मात्रै होइन, मधेश, बाग्मती र लुम्बिनीमा पनि भर्खर विश्वासको मत लिएका सरकारहरु ढालिदिने चेतावनी दिए । त्यसले ओलीको मुटुमा ढ्यांग्रो ठोक्यो र उनी अहिले लल्याकलुलुक बनेका छन् । माधव नेपालले धम्क्याएरै सुदूर पश्चिमको मूख्यमन्त्री पार्टीलाई दिलाउने अवस्था बन्यो ।
तर प्रचण्ड र ओली आफ्नो दलप्रति इमान्दार छैनन् भन्ने विषयमा माधव नेपाल स्पष्ट देखिएका छन् । बरु कांग्रेससंगकै समीकरणमा आफ्नो भविश्य नेता नेपाललले देख्न थालेको बुझिएको छ । यो गठबन्धन जसरी पनि भत्काउन लागि परेको नेपाली कांग्रेस र विदेशी शक्ति केन्द्रहरुको ध्यान पनि माधव नेपालमाथि नै छ । रवि लामिछाने ओली–प्रचण्डको हली बनेपछि ती शक्तिहरुले माधव नेपाललाई प्रधानमन्त्रीको ललिपप देखाईदिएका छन् । माधव नेपाल तयार हुने वित्तिकै मधेशी र रेशम चौधरीको समूह पनि तयार हुने भएकाले उनीहरु गैर बामपन्थीहरुको बर्चश्व भएको गठबन्धन बनाउने र त्यसलाई चुनावसम्मै लगिदिने खेलमा लागेका छन् । यो विषय ओली र प्रचण्डले पनि राम्ररी बुझेका छन् । त्यही भएर छिनको छिनमा उनीहरु शितांग हुने गरेका हुन् । इलाम २ को चुनावलगत्तै बर्तमान समीकरण परिवर्तनको खेलले अर्को मोड लिनसक्ने आँकलन पनि गरिंदैछ । सो खेल सफल हुने भयो भने जेठ १५ गते आउने बजेट ल्याउने जिम्मेवारीमा नयाँ अर्थमन्त्री नआउलान भन्न सकिंदैन । त्यसको परिणाम पनि अर्को अस्थिरताको शुरुवात नै हुने पक्का छ ।