दलहरूबीच सहकार्य गरौँ, जनतालाई राम्रो सेवा दिऔँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सबै राजनीतिक दलले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान गर्नुपर्ने बताएका छन् । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा नेकपा(एमाले)ले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सबै राजनीतिक दल एकताबद्ध भएर संविधानको मर्मअनुसार समाजवादको बाटोमा लाग्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले भने, ‘हामीले जे–जति राजनीतिक उपलब्धि प्राप्त गरेका छौँ, ती सबै राजनीतिक समझदारी एवं एकताबाटै प्राप्त गरेका हौँ । तर हामीबीच समझदारीको स्तर तल झर्दा भने सबै कमजोर भएका छौँ । हामीले समझदारी गर्दा ठूलाठूला उपलब्धि हासिल गरेका छौँ, तर जतिबेला हामी विमतितिर तथा एकअर्काप्रति विद्वेषतर्फ गयौं, नेपाली जनताले दुःख पाउने स्थिति सिर्जना भयो । त्यसकारण आजको दिन हामी राजनीतिक दलबीच समझदारी र सहमतिको यात्रा तय गर्ने नयाँ दिन बनोस् भनी सबै राजनीतिक दललाई अपिल गर्दछु ।’

विभिन्न कम्युनिष्ट धाराको प्रतिनिधित्व गर्ने कम्युनिष्टहरू, नेपाली कांग्रेस एवं अन्य दलको योगदानबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले दलहरुबीच सहकार्य तथा समझदारीको वातावरण हुँदा मात्रै परिवर्तनलाई संस्थागत गर्न सकिने बताए । उनले भने, ‘सबै राजनीतिक दलबीचको समझदारीको बलमा नै हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा छौँ । समानुपातिक एवं समावेशी मान्यतासहितको सङ्घीय गणतन्त्रलाई प्रहार गर्ने काम भइरहेको छ, त्यसका विरुद्ध लोकतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दल लाग्नुपर्छ ।’

प्रधानमन्त्री दाहालले लोकतन्त्रलाई सुदृढ गर्नका लागि सबै राजनीतिक दलको सकारात्मक योगदान रहेको उल्लेख गर्दै सामाजिक न्याय र समृद्धि दिने सपना पूरा गर्न पनि सबै राजनीतिक दल मिल्नु पर्नेमा जोड दिए । सबै राजनीतिक दलले अर्को राजनीतिक दलको योगदानलाई सम्मान गर्नुपर्ने र आफूभित्र रहेका कमीकमजोरी हटाएर देश र जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले भने, ‘हामीले गरेका राम्रा कामको समीक्षा गरौँ, कमी कमजोरीको पनि समीक्षा गरौँ । आगामी दिनमा अझ उन्नत विचारको विकास गरी जनता र राष्ट्रका पक्षमा अझ दृढतापूर्वक उभिने सङ्कल्प गरौँ ।’