नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा नक्कली भगवानको प्रभाव बढ्दै गएको भन्दै व्यङ्ग्य गरेका छन्। मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र अन्धभक्तिप्रति टिप्पणी गरेका हुन्। पार्वतीले देवताहरूलाई निःसन्तान हुने श्राप दिएपछि देवताका सन्तान जन्मिन छाडेको धार्मिक प्रसंग उल्लेख गर्दै ओलीले अहिले भने नक्कली भगवान जन्मिएर हैरान पारेको बताए।
उनले जोगीहरूलाई देख्नेबित्तिकै खुट्टा ढोग्ने प्रवृत्तिप्रति पनि व्यङ्ग्य गरे। ओलीले योगलाई ईश्वरवादसँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको दाबी गरे। अष्टाङ्ग योगका यम र नियमले सत्य बोल्न, हिंसा नगर्न, शान्तिको मार्ग अपनाउन र अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउने उनको भनाइ थियो। पतञ्जलीको समयमा योग दर्शन ईश्वरवादसँग मिसिएको दाबी गर्दै उनले योगको मूल उद्देश्य स्वस्थ शरीर र मस्तिष्कको विकास गर्नु रहेको बताए।


















