वैदेशिक रोजगारीका लागि क्यानाडा र माल्टा पठाइदिन्छु भन्दै ४१ लाख २० हजार ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका–११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये सत्यन्द्रले क्यानडा पठाइदिने भन्दै पीडितबाट ३८ लाख २० हजार रुपैयाँ ठगी गरेको र विवेकले माल्टा पठाइदिने भन्दै तीन जना पीडितबाट तीन लाख ठगी गरेको खुल्न आएकाले सत्येन्द्रलाई अनामनगर र विवेकलाई बागबजारबाट पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाइएको छ ।


















