उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष लाङ फुकुआनबीच बुधबार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले नेपाल र तिब्बत क्षेत्रबीचको सम्बन्ध हिमाल र नदीहरूबाट जोडिएको बताए ।
उनले दुई देशको कूटनीतिक सम्बन्ध स्थापना हुनु पहिलेदेखि नै विभिन्न तह तथा क्षेत्रमा सम्बन्ध एवम् सहकार्य रहँदै आएको पनि चर्चा गरे ।
उनले भेटका क्रममा नेपाली निर्यातकर्ताहरूलाई चीनको भन्सार र क्वारेन्टिन प्रक्रिया सहज गरिदिन पनि तिब्बत सरकारका उपाध्यक्षसँग आग्रह गरेका उनको सचिवालयले जनाएको छ ।
भण्डारीले नेपाल एक चीन नीति तथा चीनको शान्ति, स्थायित्व एवम् विकासलाई प्रर्वद्धन गर्ने आफ्नो समर्पणप्रति प्रतिबद्ध रहेको पनि दोहोर्याए ।
भेटमा मन्त्री भण्डारीले नेपालले बीआरआईमा सहकार्य गर्दै आएको भन्दै त्यसअन्तर्गत भौतिक पूर्वाधार विकास तथा अन्तरआवद्धताका क्षेत्रमा लाभ लिन प्रयासरत रहेको पनि बताए ।

















