वैदेशिक रोजगारीका नाममा ८० लाखबढी ठगी गर्ने दुई पक्राउ

वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइन्छिु भनेर ८० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका बस्ने सन्ध्या लामा बुढामगर र म्याग्दी मङगला गाउँपालिका घर भई हाल ललितपुर महानगरपालिका नखिपोट बस्ने उदिमबहादुर पुन रहेका छन् ।

प्रवक्ता रेग्मीले भने, ‘सन्ध्या लामा बुढामगरले स्लोभाकिया पठाइदिने भन्दै दुई लाख तथा उदिमबहादुर पुनले अमेरिका पठाइदिने भनेर ७८ लाख रुपैयाँ लिएका उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।’ उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गर्ने र आवश्यक कारबाहीका लागि बैदेशिक रोजगार विभाग पठाइएको पनि प्रवक्ता रेग्मीले जानकारी दिए ।