श्रीमतीको हत्या गरी प्रहरी वृत्तमा आत्मसमर्पण

आफ्नै श्रीमती ३२ वर्षीया अनिसा परियारलाई हत्या गरी ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ घर भएका ३५ वर्षीय सन्तोष परियारले प्रहरी वृत्तमा आत्मसमर्पण गरेका छन् । काठमाडौं महानगरपालिका–६ भूगोलडाँडा डेरा गरी बस्ने सन्तोषले आज बुधबार बिहान काठमाडौंस्थित प्रहरी वृत्त बौद्धमा आत्मसमर्पण गरेका हुन् ।

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको भनी परियारले प्रहरी वृत्त बौद्धमा पुगि जानकारी गराएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफूले श्रीमती अनिसाको हत्या गरेको प्रहरीलाई बताएका छन् । सन्तोषले मंगलबार राति १ बजेतिर श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको बताइएको छ । अनिशाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।