धादिङमा आगलागीबाट एक दम्पतीको मृत्यु

धादिङको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । प्रहरीका अनुसार धादिङको थाक्रे गाउँपालिका-५ गैरीखर्कस्थित स्थानीय ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा गएराति एक्कासी आगलागी हुँदा तेजबहादुर र उनकी ७० वर्षीया श्रीमती ठूली तामाङको मृत्यु भएको हो ।

आगलागी भएको सूचना प्रहरीले राति साढे ११ बजे पाएको र प्रहरी पुग्दा दुवै जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । राति विद्युत् सर्ट भई आगलागी भएको प्रहरीको अनुमान छ ।

थाक्रे गाउँपालिका-५ का वडाध्यक्ष सन्त बहादुर तामाङका अनुसार दुबै जनाको शव आगलागी भएको घरमै छ । उनले भने, ‘मुचुल्काका लागि प्रहरीहरू आउँदै हुनुहुन्छ । हामी कुरिरहेका छौं ।’ स्थानीयले पानी ओसारेर आगो निभाएको बताउँदै वडाध्यक्ष तामाङले भने, ‘दमकल पुग्ने अवस्था थिएन । गाउँलेहरू मिलेर पानी ओसारेर आगो निभायौं ।’ आगलागीबाट घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।