गृहमन्त्रीद्वारा तीन हजार कैदीबन्दी अट्ने क्षमताको कारागार भवन उद्घाटन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँकेको नौबस्तामा तीन हजार कैदीबन्दी क्षमताको कारागार भवन उद्घाटन गरेका छन् । तीन अर्बको लागतमा नवनिर्मित क्षेत्रीय कारागार भवनको उद्घाटन गर्दै उनले कारागार यातना केन्द्र नभएर सुधार गृह बनोस भन्नेमा सरकार सचेत रहेको बताएका छन् ।

तीन चरणमा निर्माण सम्पन्न कारागारमा प्रशासनिक, मेडिकल र स्पोर्टस ब्लक छन् । प्रत्येक ब्लकमा एक–एक हजार कैदीबन्दी अटाउँछन् । १३४ रोपनी क्षेत्रफलमा फैलिएको कारागारमा २४ सय पुरुष र ६ सय महिला कैदी अटाउँछन् ।

भवन उद्घाटन गर्दै गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीलाई सम्मानजनक श्रममा लगाउन छलफल भइरहेको बताए । पहुँच भएकाले मात्रै कैद मिनाहा पाएको गुनासो सम्बोधन हुने समेत मन्त्री लामिछानेले बताएका छन् । उनले भने, ‘अब खल्तीबाट नाम झिकेर कैद मिनाहा गर्ने प्रवृत्ति अन्त्य हुन्छ ।’ आचरण सुधार गर्ने कैदीलाई पहुँच नचाहिने र उनीहरुको साथमा सरकार भएको उनको भनाई छ ।