पोखराका दुई इन्जिनियरसहित तीन जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका दुई इन्जिनियरसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिँदा घूस लिएको अभियोगमा आयोगले बिहीबार महानगरका इन्जिनियर शिवराज बराल र सब इन्जिनियर उषा किरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सीका कर्मचारी सुरज कुँवरविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

अख्तियार पोखराको टोलीले इन्जिनियर बराल र सब इन्जिनियर रोकायालाई पक्राउ गरी अनुसन्धानका लागि अख्तियार मुख्यालय टङ्गाल पठाएको थियो । बराललाई बैशाख ४ गते र रोकायालाई चैत २८ गते पक्राउ गरिएको थियो । बराल र रोकाया दुवै घर नक्सा शाखाका कर्मचारी हुन् । अख्तियारले चैत २८ गते सोही घटना संलग्नताको आरोपमा गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका कुँवरलाई पनि पक्राउ गरेको थियो । रोकाया र कुँवरलाई सेवाग्राहीबाट लिएको एक लाख ५० हजार रुपैयाँ घूससहित अख्तियारले रङ्गेहात पक्राउ गरेको थियो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार तीन जनाले मिलेर घर निर्माणको प्रमाणपत्र दिन साढे तीन लाख घूस माग गरेको अनुसन्धानबाट खुलेको छ । गोदार इन्जिनियरिङका कर्मचारी कुँवरमार्फत रकम लिई दुई लाख बरालले आफ्नै खातामा राखेको देखिएको छ । तीनै जनाविरुद्ध भ्रष्ट्राचार निवारण ऐन २०५९ बमोजिम तीन लाख ५० हजार बिगो कायम गरी ऐन अनुसार बिगो र जरिवाना मागदाबी लिई आरोप पत्र दायर गरिएको अख्तियार प्रवक्ता घिमिरेले बताए ।