डढेलो निभाउन हेलिकप्टरबाट पानी खन्याउने गृहमन्त्रीको प्रस्ताव

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगलागी तथा डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट पानी खन्याउने प्रस्ताव राखेका छन् ।

कतिपय मुलुकले आगो निभाउन हेलिकप्टरको प्रयोग गर्दै आएको र त्यो प्रभावकारी समेत देखिएको भन्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो प्रस्ताव राखेका हुन । शुक्रबार राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’मा विपद् व्यवस्थापन सम्बन्धमा छलफल थियो । आगलागी नियन्त्रणका लागि दक्ष जनशक्ति, स्रोत र उच्च प्रविधियुक्त उपकरणका साथसाथै हेलिकप्टर प्रयोग गर्ने सम्बन्धमा संसदीय समितिले सरकारलाई निर्देशन गरिदिए हुन्थ्यो भन्नेसमेत गृह मन्त्रालयको अपेक्षा रहेको गृह सचिव एकनारायण अर्यालले बताएका छन् ।

दीर्घकालीन नीति अन्तर्गत आगलागी नियन्त्रण गर्न र तयारीका लागि सातै प्रदेशमा गोदाम घर तथा मानवीय सहायता कोष बनाउने योजना रहेको उनले जानकारी दिए । साथै बन्द रहेका विमानस्थलमा आगलागी नियन्त्रणका लागि आवश्यक उपकरण राख्ने चाहना समेत मन्त्रालयको रहेको उनले बताए ।