इनमसँग म्यासेज प्रकरण :आज सर्वोच्चको फुलकोर्ट बैठक

प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटासँग प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको सम्बन्ध र आर्थिक कारोबार देखिने विवरण सार्वजनिक भएपछि न्यायिक क्षेत्रमा हलचल मच्चिएको छ। विवादबारे छलफल गर्न आज सर्वोच्च अदालतमा सबै न्यायाधीश सहभागी हुने पूर्ण बैठक (फुलकोर्ट) बस्दैछ । सापकोटासँग सर्वोच्च अदालतका चार न्यायाधीशको सम्पर्क देखिएको विवरण सार्वजनिक भएपछि बैठक बोलाइएको हो।

अदालतका चार जना न्यायाधीशसँग सापकोटाको सम्पर्क भएको खुलेको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयालसँग सम्बन्ध र कारोबार देखिने विवरण सार्वजनिक भएका छन् । न्यायाधीश फुयालसँग सर्वोच्चमा विचाराधीन एक मुद्दाका विषयमा कुराकानी भएको सार्वजनिक विवरणमा उल्लेख छ । सार्वजनिक ह्वाट्सएप संवादमा सापकोटाले एक मुद्दामा प्रभाव पार्न खोजेको देखिए पनि न्यायाधीश फुयालले भने कानूनी आधारअनुसार नै धरौटीमा छाडिएको प्रतिक्रिया दिएका छन् ।

त्यही विवादमा प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद विश्वराज पोखरेलको नाममा समेत अमेरिका तथा नेपालका बैंकमा रकम जम्मा गर्न भनिएको विवरण सञ्चारमाध्यममा सार्वजनिक भएको छ ।