बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पदम बहादुरलाई काठमाडौं कलंकीबाट र महेशलाई ललितपुर पुल्चोकबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने कास्की पोखरा महानगरपालिका घर भएका ५६ वर्षीय पदम बहादुर थापा मगर र काठमाडौं टोखा नगरपालिका धापासी बस्ने सिन्धुपाल्चोक थुमपाखर गाउँपालिका घर भएका ५४ वर्षीय महेश कुमार कार्की रहेका छन् ।
पक्राउमध्ये पदम बहादुरलाई उच्च अदालत पाटन ललितपुरको २०७६ वैशाख १० गतेको फैसलाले १ महिना कैद र २० लाख रूपैयाँ जरिवाना तथा महेशलाई सोही अदालतको २०८० जेठ १२ गतेको फैसलाले ५ दिन कैद, बिगो रकम १५ लाख रूपैयाँ जरिवाना र क्षतिपुर्तिबापत पीडित राहत कोषमा ६० हजार रूपैयाँ जम्मा गराउने फैसला ठहर भएको थियो । प्रहरीका अनुसार उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको छ ।





















