skip this वडा नं १६ बालाजु च:मती

जसपा फुटपछि मध्यराति अमेरिकाबाट उपप्रधानमन्त्री यादव आइपुगे, आजै संसदीय दलको बैठक बस्ने

जनता समाजवादी पार्टी नेपाल(जसपा)का अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट मध्यरातमा नेपाल आइपुगेका छन् । यादव मंगलबार सबेरै बिहान १ बजे कतार एयरवेजको जहाजबाट काठमाडौं उत्रिएका हुन् ।

अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गत शनिबार बेलुकी यादव अमेरिका गएका थिए । केही दिनअघि यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी पार्टी नेपाल(जसपा) अहिले दुई टुक्रा भएको छ ।

मलिन अनुहारमा देखिएको यादवलाई एयरपोर्टमा स्वास्थ्य मन्त्रालयका केही कर्मचारी र जसपा कार्यकर्ताले खादा र मालाले स्वागत गरेका गरेका थिए । यादव अमेरिकबाट काठमाडौं आइनपुग्दै जसपा विभाजन गरेर संघीय परिषद् अध्यक्ष अशोक राईले नयाँ दल खोलिसकेका छन् । जसपाका १२ मध्ये ७ सांसद राईले लगिसकेका छन् ।

यादवले नेपाल टेक्न नपाउँदै यादवको दल जसपा नेपाल अब प्रतिनिधिसभामा १२ सिटबाट घटेर ५ मा सीमित भएको छ । यादवले अमेरिकाबाट कतार हुँदै काठमाडौं टेकिनसक्दा अशोक राईले जनता समाजवादी पार्टी(जनता समाजवादी)लाई निर्वाचन आयोगमा दर्ता गरेर प्रमाणपत्रसमेत लिइसकेका छन् । पूर्वशिक्षामन्त्रीसमेत रहेका राईले नयाँ दल दर्ता गर्दा केन्द्रीय कमिटीबाट पनि ३० जना नेतालाई आफ्नो पक्षमा पारिसकेका छन् । राई नेतृत्वको पार्टीलाई औपचारिक रुपमा दलको मान्यता मिलेको छ ।

त्यस्तै, अध्यक्ष यादव नेपाल आउनुअघि नै जसपा नेपाल संसदीय दलको बैठक बोलाइएको छ । जसका पाँच जना मात्रै सांसद बाँकी छन् ।उनले संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई बैठकमा सहभागी हुन आफ्नो सचिवालयमार्फत खबर गरिसकेका छन् ।यादवका स्वकीय सचिव महेश चौरसियाले जसपा नेपाल संसदीय दलको बैठक बसेर मात्रै विस्तृत धारणा सार्वजनिक गरिने बताएका छन् ।