नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सत्ता गठबन्धन फेरिन सक्ने बताएका छन् । पोलिटब्यूरो बैठकको छलफलका क्रममा तत्काल कम्युनिस्ट पार्टीहरूबीच एकता वा वाम एकता सम्भव नभएको निष्कर्ष निकालेका उनले अहिले एमाले र माओवादीसँगको सत्ता सहकार्य पनि फेरिन सक्ने निष्कर्ष निकालेका छन् ।
सोमबारदेखि सुरू पार्टीको पोलिटब्यूरो बैठकमा छलफलका लागि पेस भएको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले संसदभित्रका विभिन्न राजनीतिक दलहरू सम्मिलित समीकरणमा रहनु मोर्चा नभएको स्पष्ट पार्दै यसलाई तत्कालिक राजनीतिक सहकार्य मात्रै भएको तर्क गरेका छन् ।
प्रतिवेदनमा भनिएको छ, ‘यो समीकरण वर्तमान संसदको संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो । यो दीर्घकालीन होइन तत्कालिक राजनीतिक सहकार्य मात्र हो । त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ ।’


















