हिजो बस्ने भनिएको नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहानको लागि तय भएको छ । सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै आएको कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने निर्णय गर्ने चेतावनी दिँदै आएको छ । यसै विषयमा आजको बैठकले निर्णय गर्ने छ ।
सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसको आज बस्ने संसदीय दलको बैठक यसै विषयमा केन्द्रित हुने जनाइएको छ । कांग्रेसका एक नेता भन्छन्, ‘सोमबार साँझ वा मंगलबार बिहानसम्म कुर्ने भन्ने निर्णय भएर बैठक सारिएको हो । समिति बनिहाल्यो भने फरक निर्णय गर्नुपर्छ, समिति बनेन भने सदनमा झन् सशक्त बन्न कठोर निर्णय गर्नुपर्छ अर्थात त्यो भनेको नीति कार्यक्रम पेस गर्न नदिने हो ।’
सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


















