उपचारका क्रममा इतिहासकार ज्ञानमणिको निधन

९२ वर्षीय इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको आज निधन भएको छ । उनको महाराजगञ्जस्थित मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि मुटु रोगलगायतका समस्यासँग जुधिरहेका उनको निधन भएको पुष्टि भाइ एकमणि नेपालले गरेका छन् ।

गम्भीर स्वास्थ्य समस्या देखिएपछि नेपाललाई १० दिनअघि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । ‘नेपालको महाभारत’ उनका चर्चित पुस्तकमध्ये एक हो । उनले ‘नेपाल निरुक्त’, ‘यात्रा त्रयी’, ‘नेपालनिरुपण’, ‘नेपाल-भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्ष’ पुस्तक लेखेका थिए । नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अब्बल मानिन्थे ।