सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट खारेज

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा बैशाख ९ गते दायर गरिएको रिट खारेज भएको छ । न्यायाधीशहरू प्रकाश कुमार ढुंगाना, कुमार चुडाल र सुनिल कुमार पोखरेलको इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेजी हुने फैसला सुनाएको हो ।

एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी(नाउपा)का लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका थिए । उक्त रिटलाई यसअघि सर्वोच्चले पूर्ण इजलासमा सुनुवाइको लागि पठाएको थियो । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न २ वैशाखसम्म समय दिएका थिए । नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित १ वैशाखमा दाबी पेस गरेका थिए ।

नाउपाकै कैलाश चौधरीले एमाले र माओवादीका संसदीय दलको नेताको समर्थनसहित दाबी पेस गरेका थिए । दुवैको दाबीबारे निर्णय नगरेका प्रदेश प्रमुख नजिर मियाँले ४ गते दुवैको दाबीका आधारमा निष्कर्षमा पुग्न नसकेको भन्दै थप दुई दिन समय दिएका थिए ।