काठमाडौँ । सत्ता र प्रतिपक्ष दलको शनिबार बालुवाटारमा बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भए पछि आज त्यसबारे थप छलफल गर्न बैठक बसि रहेको छ । बैठकमा सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक बसेको एक नेताले बताए । कार्यादेश टुङ्गो लगाउन कानुन मन्त्रालयमा कार्यदलस्तरको बैठक सुरु भएको कार्यदल सदस्य तथा एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । सहमति अनुसार गठित कार्यदलले समितिको कार्यादेश (टिओआर) टुङ्गो लगाउनेछ । कार्यादेश टुङ्गो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन भएको थियो । जसमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

















