वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा तीन करोड १८ लाख ९८ हजार २९ रकम बढी सङ्कलन गरेको हो ।
महानगरले गत आवको १० महिनामा ३६ करोड ६१ लाख ३६ हजार ९० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट पुसमा संशोधन गर्दै ७० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य भए तापनि हालसम्म ४० करोड रुपैयाँको हाराहारीमा मात्रै राजस्व सङ्कलन भएको जानकारी दिए । उनले भने, ‘आर्थिक मन्दीका कारण वीरगञ्जमा व्यापार घटेको छ, यसको राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको छ ।’
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई चालु आर्थिक वर्षमा मालपोत कर ५० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यो प्राप्त गर्न कठिन हुने बताए । उनले भने, ‘यो वर्ष घरजग्गा कारोबारमा ठूलो मन्दी आएकाले १३ करोड ९३ लाख ६२ हजार रुपैयाँ मात्रै सम्पत्ति कर(मालपोत) कर उठेको छ । आन्तरिक राजस्व अपेक्षाकृत रुपमा सङ्कलन नहुँदा स्रोत जुटाउन दबाब बढेको छ ।’
महानगरले २४ शीर्षककमा आन्तरिक राजस्ववापत आम्दानी गर्दै आइरहेको छ । महानगरले यस वर्ष घरबहाल कर बापत चार करोड ९६ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ भने पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर बापत भने दुई करोड सात लाख ९२ हजार रुपैयाँ सङ्कलन गरेको छ ।
महानगरले बहाल करतर्फ तीन करोड २६ लाख ४४ हजार तथा अन्य सेवा शुल्कबापत दुई करोड ४१ लख ४३ हजार, नक्सापास दस्तुर दुई करोड ९२ लाख ४ हजार रुपैयाँ उठाएको छ । गत आवमा ५७ करोड एक लाख ७३ हजार दुई सय एक रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
















