जलवायु परिवर्तन र बिम्स्टेक मुलुकसम्बन्धमा प्रधानमन्त्री र बिम्स्टेकका महासचिवबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा मंगलबार भएको भेटमा उनीहरूबीच जलवायु परिवर्तनको असर एवं बिम्स्टेक मुलुकबीच हुने सहकार्यका विविध विषयमा छलफल भएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले बिम्स्टेकले क्षेत्रीय आर्थिक सहकार्यलाई बढवा दिँदै आएको उल्लेख गर्दै सदस्य राष्ट्रबीचको सहकार्यलाई थप प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिए । उनले यस क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरका विषयमा पनि छलफल चलाउनुपर्ने बताए ।

महासचिव पाण्डेले बिम्स्टेक सदस्य मुलुकको हैसियतमा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा नेपालको भूमिका अझै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।