दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएन: सांसद राणा

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणाले दिगो विकासले लिएको लक्ष्यअनुरुपको प्रगति नभएको भन्दै लक्ष्य पूरा गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताएकी छन् । बुधबारदेखि सुरु ‘हिमाल, मानव र जलवायु परिवर्तन:विशेषज्ञको अन्तर्राष्ट्रिय संवाद’को दोस्रो दिनको ‘जलवायु न्याय, समानता र स्थानीय आवाजः लिङ्ग र युवा’ विषयक सत्रमा उनले दिगो विकासको सम्बन्धमा संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको प्रतिवेदन हेर्दा दिगो विकासको लक्ष्य सन्तोषजनक नरहेको बताएकी हुन् ।

जलवायुले ल्याएको चुनौती पहिल्याएर उनीहरुको क्षमता बढाउनुपर्नेमा उनको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी नीति कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा उनले जोड दिइन । ‘स्थानीयस्तरका ज्ञानलाई प्रयोग गरेर जलवायुसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्छ, राजनीतिक सहमति जुटाउनुपर्छ । जलवायु परिवर्तनसम्बन्धी सम्झौता कानुनीरुपमा नै बाध्यकारी प्रावधान ल्याउनुपर्नेछ ।’

नेपाली कांग्रेसकी नेतृ समेत रहेकी डा.राणाले पछिल्लो समय पृथ्वीको तापक्रम पनि दिनानुदिन बढिरहेको र यसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढी परिरहेको बताइन । उनले भनिन, ‘जलवायु परिवर्तनको प्रभावका कारण प्रकोप बढेर हिमताल फुट्ने जोखिम बढेको छ । जलवायु न्यायका कुरा गर्दा हिमाली क्षेत्रका महिलाले वातावरण जोगाउन खेलेको भूमिका महत्वपूर्ण छ, उहाँहरुले हिमालका हरेक कुनाकाप्चामा जोखिमका बाबजुद अघि बढेर जैविक विविधता संरक्षणमा भूमिका निर्वाह गरिरहनुभएको छ। जलवायुका कारण हिमाली क्षेत्रका महिलाले भोगेको समस्या सम्बोधन हुने गरी काम गर्नुपर्छ ।’