यार्सागुम्बा टिप्न गएको मौका छोपी हतियारसहितको समूह गाउँ पसेर लुटपाट

मुगुको एक गाउँमा शनिबार राति भरुवा बन्दुकसहित करिब नौ जनाको समूह गाउँमा पसेर स्थानीयलाई तर्साएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । मुगुको मुगमकार्मारोङ गाउँपालिका–२ डोल्फु गाउँमा हतियारसहितको समूह पसेर लुटपाट गरेको हो ।

मुगु प्रहरीका अनुसार उक्त स्थानमा सुरक्षाको लागि आइतबार नै जिल्लाबाट प्रहरी हिडेको छ । स्थानीयहरु यार्सागुम्बा टिप्न गएका बेला गाउँमा ८–९ जनाको समूह गएर घरहरुमा लुटपाट गरेको खबर आएकोले त्यसतर्फ प्रहरी टोली पुगिसकेको जनाइएको छ । लुटेरा समूहले भरुवा बन्दुक देखाएर घरमा लुटपाट गरेको प्रहरीले जनाएको छ ।

घटना भएको डोल्फु गाउँ सदरमुकामदेखि साढे दुई दिनको पैदल दूरीमा पर्छ । युवाहरु यार्सागुम्बा टिप्न पाटन गएको र घरमा बुढापाका मात्र भएको मौका छोपेर लुटेरा समूह गाउँ पसेको बताइएको छ । साथै, लुटेरा समूहले घरमा भएका कुकुरहरुलाई गोली हानेर मारिदिएको समेत गाउँलेले खबर गरेका छन् ।