कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याइएको छ। मंगलबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए।
जनकपुरको काव्या अस्पतालमा रहेका उनलाई थप उपचारका लागि काठमाडौंमा पठाउन रिफर भएसँगै हेलिकप्टरमार्फत पठाइएको हो। उनलाई सिधै मेडिसिटी अस्पतालमा पुर्याएर भर्ना हुने उनका कानुन व्यवसायी किशोर पौडेलले जानकारी दिए।
धनुषा जिल्ला अदालतका न्यायाधीश यदुराज शर्माको इजलासले सोमबार नागरिकतासम्बन्धी कसुर ९झुट्टा विवरण पेश गरी किर्ते गरेको० मा सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो। अनुमतिसँगै अदालतले अनुसन्धानमा शीघ्रता अपनाउन आदेश दिएको हो।
‘प्रतिवादी कैलाशप्रसाद सिरोहिया बिरामी भएको र मिसिल संलग्न काव्या अस्पतालको रिपोर्ट हेर्दा र उनको स्वास्थ्य अवस्थाको प्रतिकूलतालाई विचार गर्दा अनुसन्धानमा शीघ्रता र उपयुक्त अस्पतालमा लागि उपचार गराउनु तथा उनले नियमित स्वास्थ्य परीक्षण गर्ने गरेको चिकित्सकबाट परीक्षण गराउन उपयुक्त हुने हुँदा सोको लागि आवश्यक व्यवस्था गर्नु गराउनु,’ आदेशमा भनिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय धनुषाले सोमबार अदालतमा पेस गरेको पत्रअनुसार जिल्ला प्रहरी परिसर काठमाडौं लगायत निकायबाट परीक्षणका लागि पठाइएका हस्ताक्षर र हस्तलिखत नमूना परीक्षणको प्रतिवेदन आउन बाँकी छ।
उक्त विवरण मगाउने, सिरोहियाको औंलाछापको नमूना परीक्षण गर्न पठाउने र घटना विवरणका कागज बुझ्न बाँकी रहेको भन्दै सरकारी वकिलले अदालतसमक्ष माग गरेको थियो।


















