पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच दोहोरी चल्ने गरेको छ । बालेन शाहले काठमाडौं सडक डिभिजन कार्यालय अगाडी माटो खसालेको बिषयलाई लक्षित गर्दै आईतबार एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले रिस उठ्यो भनेर अर्काको घरको आँगनमा फोहोर फाल्नु असभ्य भएको बताएका थिए । उनले यस्तो असभ्य कार्यको बिरोध गर्नु पर्ने समेत बताएका थिए । आज भने बालेनले आफ्नो फेस बुक स्टाटसमा गिरिबन्धु प्रकरणमा पुन जेल जानु पर्ने चेतावनी दिएका छन ।
उनले फेस बुकमा लेखेका छन, ‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू । झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन । यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउन थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनु होला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।’
उता न्युरोडको फुटपाथ क्षेत्र बढाउन काठमाडौं महानगरपालिकाले गरेको प्रयासमा सरकारले गरेको असहयोगप्रति बालेन रुष्ट छन् । महानगरपालिकाले पिच भत्काइसकेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागले पिच गरिदिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेकपा एमालेका रघुबीर महासेठ छन् । यसमै बालेनले एमाले अध्यक्ष ओलीलाई समेत जोड्दै फेसबुकमा आक्रोश पोखेका छन् ।















