उत्तेजक अभिव्यक्ति नदिन महानगरप्रमुख बालेन शाहलाई सांसद भट्टराईको सुझाव

नेपाल कम्युनिष्ट पार्टी(एमाले) सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेता भट्टराईले काठमाडौं महानगरप्रमुख शाहले राजनीतिक व्यवस्था परिवर्तनको संवाहक राजनीतिक दलका नेताहरुको जेलजीवनको उपहास गरेकामा आपत्ति जनाए ।

सांसद भट्टराईले प्रमुख शाहप्रति लक्ष्य गर्दै भने, ‘हामी काठमाडौं महानगरपालिकाका प्रमुखलाई सहयोग गर्न तयार छौं । एमालेका अध्यक्ष केपी शर्मा नेतृत्वको सरकारले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सहयोग गरेको हो । काठमाडौंलाई अझ सुन्दर बनाउन तपाईंको योजना के छ ? आउनूहोस् हामीसँगै काम गरौँ । उत्तेजना फैलाउने उच्छृङ्खल गतिविधि नगर्न म आग्रह गर्छु ।’

सांसद भट्टराईले सहकारी ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिले सहकारीका तमाम नीतिगत समस्याका सन्दर्भमा  स्पष्ट धारणा पेस गर्ने विश्वास व्यक्त गरे । उनले सबै प्रकरणमा आफ्नो पार्टी अनुसन्धानका लागि तयार भएको  बताए ।  ‘गिरिबन्धुको विषय लिएर हाम्रो पार्टी, पार्टी अध्यक्षमाथि नियोजित ढङ्गले आक्षेप लगाइएको छ’, सांसद भट्टराईले भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनमा अवरोध गरेका कारण जनताका धेरै विषय सदनमा उठाउन नसकिएको बताए ।