सहकारी ठगलाई राज्यले नै संरक्षण गरिरहेको छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारीको बचत हिनामिनामा संलग्नहरूलाई राज्यले नै संरक्षण गरिरहेको आरोप लगाएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बुधबार पोखरामा सहकारीको बचत फिर्ता नपाएर आन्दोलन गरिरहेकाहरू माथि सरकारले डन्डा बर्साएको भन्दै उक्त आरोप लगाएका हुन् ।

उनले भने, ‘लोकतन्त्र, गणतन्त्र प्राप्तिको आन्दोलनमा जुन किसान, मजदुरहरूले साथ दिए, अहिले राज्यसत्तामा रजाइँ गर्ने कमरेडहरूलाई । उहाँहरूले जम्मा गरेको रकम अपचलन भएपछि हिजोभन्दा पहिले सम्माननीय प्रधानमन्त्री पोखरा जाँदा ती सहकारीपीडितहरूले विनम्रतापूर्व बिन्ती पत्र हालेका थिए । हामीले खाइ नखाइ जम्मा गरेको पैसा, हाम्रो रगत पसिना सीमित टाठाबाठाले लुटे, खाए भने । त्यो विचलन गर्नेहरू अहिले कुनै कुनामा ढुक्कसँग बसेका छन् । गण्डकीमा, ढोरपाटनमा मेयर भूमिगत छन् । यी सबैलाई राज्यसत्ताले संरक्षण गरिराखेको छ। यहाँ संसदमा भएका धेरै सांसदलाई थाहा छ, सहकारीको पैसा कसले अपचलन गरेको छ ?’

उनले राज्यसत्तामा पहुँच भएको रजाइँ गरेकाहरूले सहकारीको वचत हिनामिना गरेको बताएका छन् । यस्तो अवस्थामा चोरलाई चौतारो र साधुलाई दण्डको शैलीमा सरकार प्रस्तुत भएको बताएका छन् । अहिले बनाइएको छानबिन समितिले पनि प्रतिवेदन बुझाउने बाहेक समाधान नदिने बताउँदै उनले सत्तामा बसेर सहकारीको बचत अपचलन गर्नेहरूले समितिले दिएको प्रतिवेदन कसरी कार्यान्वयन गर्ने भन्दै प्रश्न पनि गरे । उनले अहिलेको समिति टालटुले र पीडकलाई जोगाउने किसिमको भएको बताएका छन् ।