बाल मन्दिरको जग्गा भाडा प्रकरणमा तुलसीनारायण श्रेष्ठ पक्राउ

२५ जेठ, काठमाडौं । बाल मन्दिरको जग्गा भाडा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको एक महिनापछि आज एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई शुक्रबार काठमाडौंबाटै पक्राउ गरिएको हो यो प्रकरणमा २७ वैशाखमा २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।अहिलेसम्म कोही पनि पक्राउ नपरको भन्दै सीआईबीमाथि दबाब बढ्न थालेपछि सीआईबीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को नाममा रहेको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा हाल वृहस्पति विद्या सदनले भाडामा लिएको छ । वृहस्पतिले भाडामा लिएकोमध्ये ५ रोपनी जग्गा राई स्कुललाई २०७६ सालदेखि भाडामा दिएको छ ।२०५९ सालमा उक्त जग्गा २०८९ सालसम्म भाडामा लिनेदिने सम्झौता भए पनि उक्त अवधि सकिन १७ वर्ष बाँकी हुँदै २०७२ साल साउन ३ गते थप ३८ वर्षका लागि सो जग्गा वृहस्पति विद्या सदनले भोगचलन गर्न पाउने गरी सम्झौता भएको छ ।