करोडौँको जग्गा हडप्न खण्डहर पारिएको कुर्मी परिवार: आरोपीहरू खुलेआम हिँड्छन्, प्रहरी मुखदर्शक

बाँकेको नेपालगञ्ज १७ मा पर्ने परस्पुर गाउँका महालु कुर्मीको २०६२ मा निधन भयो । श्रीमती निर्मला कुर्मी पति वियोगमा परिन् । उनको सिउँदो पुछियो । अर्धबैंसे छँदै विधुवा हुनुपर्‍यो । जतिबेला देश द्वन्द्वमा थियो ।

त्यहीबेला महालुको निधनपछि दुई छोरा सुरेश र रामसागरको लालानपालान, शिक्षादिक्षादेखि घर व्यवहार गर्ने जिम्मा निर्मलाकै काँधमा आइलाग्यो । जग्गा जमिन पर्याप्त थियो । सडक छेउको जग्गा हुनाले सबै बेच्दा त्यसबेलै करोड बढी आउने थियो । सोही जग्गामा छिमेकी बादशाह कुर्मीको नजर गड्यो । अनि, बादशाहको थिचोमिचोमा पर्न थालिन् निर्मला । कहिले घरमै आएर कुटपिट गर्थे । कहिले बारीमा घिसार्थे । जग्गा हडप्न खोज्थे । यसरी घरको मुली नहुनु र सन्तान बालखै हुनाले निर्मलाले बादशाहबाट सहनु पिर सहिन् । उनी कांग्रेस नेता हुन् ।

यसरी बादशाहको हेपाहा प्रवृत्तिविरुद्ध जसोतसो लड्दै आएकी निर्मलाको जीवनमा २०६६ साल ‘महादुखान्त’को वर्ष बन्यो । त्यस वर्षको कात्तिक दोस्रो साता कान्छो छोरा रामसागर एक्कासी बिरामी परे । लगत्तै उनको मृत्यु भयो । उनी १४ वर्षका थिए । श्रीमान् महालु गुमाएको त्यसबेला चार वर्ष मात्रै भएको थियो । पति वियोग भुल्दै गरेकी उनलाई पुत्र वियोग आइलाग्यो ।

अधिकारकर्मी रुबी खानका अनुसार निर्मलाले उनलाई त्यसबेला रामसागरको मृत्यु संस्कारमा बादशाहले जानसमेत नदिएको गुनासो गरेकी थिइन् । ‘मैले ९ महिना गर्भमा बोकेँ । बाँकी १४ वर्ष स्याहारेर हुर्काएँ । उनको खै कसरी मृत्यु भयो’, निर्मलाले त्यसबेला आफूलाई भनेको कुरा स्मरण गर्दै रुबीले सान न्यूजसँग भनिन्, ‘उनै मेरो छोरालाई चितामा राखेर अन्तिम विदाइ गर्ने चाहना थियो । तर, बादशाहले जान दिएनन् । रोके ।’

कान्छो छोरा रामसागरको मृत्युले कुर्मी परिवार दु:खान्तमा पर्‍यो । परिवारको खुसी उड्यो । घर उजाडियो । तर, सहनुको विकल्प निर्मलासामु थिएन । यत्तिकैमा फेरि, अर्को बज्रपात आइलाग्यो । मंसिर महिना (२०६६) कै अन्तिम साता जेठो छोरा सुरेशको पनि एक्कासी बिरामी परेर मृत्यु भयो । जतिबेलासम्म कान्छो पुत्र गुमाउँदा सहनुपरेको दु:खको आँसु आँखामा ओभाएकै थिएन । बलिन्द्र आँसुमा डुबिन् निर्मला । यद्यपि, सुरेशको पनि मृत्यु संस्कार गर्नै पर्‍यो । उनी १८ वर्षका थिए ।

घरदेखि तल रहेको खेतको गरामा उनको अन्त्येष्टी भयो । तर, त्यहाँ पनि बादशाहले निर्मलालाई जान दिएनन् । घरको पेटीदेखि छोराको शवदेखि धुवाँ उडेको मात्रै हेर्न विवश भइन् । अधिकारकर्मी रुबीका अनुसार निर्मला आफ्ना दुई छोराको स्वाभाविक मृत्यु भएको ठान्दिन थिइन् । उनी शव परीक्षण गराउनुपर्ने पक्षमा थिइन् । किनभने खानामा विष मिसाएर खुवाएको हुन सक्ने उनको आशंका थियो । तर, उनले भने जसरी शवको परीक्षण भएन । यसरी एकपछि अर्को दु:खको भूमरी निर्मलाले सामना गर्नुपर्‍यो ।

अर्कातिर, उनको जग्गा हडप्न तम्सेकोतम्सेकै थिए, बादशाह । त्यहीबेला श्रीमान गुमाएको चार वर्षपछि दुई साताकै अन्तरमा दुई छोरा पनि गुमाइन् । अनि, बादशाहको थिचोमिचो अचाक्ली भयो । कुर्मी परिवारको नाममा रहेको साढे ४ बिघा जग्गाको लालपुर्जा, नागरिकता र नाता कायमसम्बन्धी कागजपत्र बादशाहले कब्जा गरे । यससम्बन्धी निर्मलाले जिल्ला प्रशासन कार्यालय बाँकेमा २० चैत २०६७ मा उजुरी दिइन् । रुबीसहितका अधिकारकर्मीहरूले जिल्ला प्रशासन अगाडि प्रदर्शन गरिन् । अन्तत: बादशाहले निर्मलालाई कागजपत्र फिर्ता गरे ।

यसपछि २०६९ सालमा भने निर्मलाको जग्गा बादशाहसहित अन्य केही व्यक्तिको नाममा नामसारी भयो । आफ्नो जग्गा हडेको थाहा पाएकी निर्मला यसविरुद्धको लडाइँमा लडिरहिन् । यहीबीच २५ माघ २०७५ देखि निर्मला एकाएक सम्पर्कविहीन भइन् । बादशाहलगायतले निर्मलाले भारतमा बिहे गरेको चर्चा चलाए । त्यसको दुई वर्षपछि निर्मलाको भारतमै मृत्यु भएको खबर गाउँभर फैलियो ।

यसपछि निर्मलाको अपहरण तथा शरीर बन्धक बनाएर हत्या गरेको आरोपमा महिला अधिकार मञ्च बाँकेले १६ मंसिर २०७८ मा बादशाहसहित कृष्णमुरारी सिंह, कुवर बबन सिंह, उर्मिला कनोजिया, अम्मरलाल कुर्मी, धीरेन्द्र सिंह, रमेश थापा र पार्वती विष्टको नाममा किटानी जाहेरी दियो । उनीहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न मञ्चको माग थियो ।

र, त्यहीबेला घटनाको अनुसन्धान गर्न प्रहरी उपरीक्षक कमल थापाको नेतृत्वमा एउटा टोली गठन भयो । उक्त टोली स्थलगत अनुसन्धानका लागि बाँके पुग्यो । तर, केही पनि घटनाबारे नयाँ तथ्य फेला पारेन । यसपछि अनुसन्धानले थप गति पनि लिएको छैन । यद्यपि, सीआईबीले निर्मलाका नाममा रहेको जग्गा र नामसारी भएको कागजात नियन्त्रणमा लिएर त्यसको अनुसन्धान गरिरहेको दाबी गरेको छ ।

निर्मलाको घरजग्गा भूमाफिया बादशाह सहितले किर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मी नेतृत्वको समितिले भेटेको थियो । समितिले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसमक्ष दोषी पक्राउ गर्न प्रतिवेदनमा सुझाव दिइएको थियो । सोहीअनुसार २०७८ मंसिरमा रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ६ जना आरोपीलाई प्रहरीले पक्राउ गरेर २१ दिन हिरासतमा राखेर हाजिरी जमानीमा छाडेको थियो । कांग्रेसबाट सभासद भइसकेका कुर्मी र आरोपित ८० वर्षीय कुवर बब्बन सिंहलाई भने अदालतले उमेर हदम्यादका कारण साधारण तारिखमा छाडेको थियो ।

निर्मलाका लागि न्याय सङ्घर्ष

निर्मला कुर्मीको न्यायका लागि भन्दै सरकारलाई दबाब दिन शुक्रबार बाँकेदेखि आइपुगेको महिला र अधिकारकर्मीहरू सम्मिलित १४ जनाको टोली माइतीघरमा धर्नामा छ । राष्ट्रिय महिला अधिकार मञ्च बाँकेको नेतृत्वमा आएको टोलीको नेतृत्व अधिकारकर्मी रुबी खानले गरेकी छिन् । यसअघि उनीहरूले एक सातासम्म बाँके जिल्ला प्रशासन कार्यालय परिसरमा आन्दोलन गरेका थिए । त्यहाँ उनीहरूको माग सुनुवाइ नभएपछि फेरि काठमाडौं आएका हुन् ।

धर्नारत उनीहरूलाई नागरिक अभियन्ताहरू, कानुन व्यवसायीहरू तथा सरोकारवालाहरू आएर भेट्ने, धर्नामा ऐक्यबद्धता जनाउने गरेर साथ दिइरहेका छन् । २०७८ यता खानको नेतृत्वमा बाँकेदेखि महिला र अधिकारकर्मीहरू हरेक वर्ष निर्मला कुर्मीको न्यायका लागि पैदल हिँडेर आउने गरेका छन् । गृहमन्त्रीले हरेक वर्ष नै घटनाका दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउँछन् र उनीहरूलाई फर्काउँछन् । तर, घटनाको अनुसन्धान जहाँको त्यहीँ हुन्छ । जसबाट जग्गा हडप्न एउटा परिवार नै खण्डहर पारेकाहरू खुलेआम हिँड्न पाएका छन् । सरकार नै दण्डहिनता पक्षपातीजस्तो भएको छ ।