भारतका राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबीच नेपाल-भारतबीच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी, दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सशथ ग्रहण समारोहमा सहभागी भएका थिए ।

सपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र उनका समकक्षी मोदीबीच भेटवार्ता भएको थियो । सो भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा प्रधानमन्त्री मोदीलाई बधाइ दिँदै उनको आगामी कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गरे ।

आइतबार साँझ नै राष्ट्रपति मुर्मुद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री प्रचण्ड सहभागी थिए । प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।