क्रिकेटलाई चौधरी ग्रुपको निरन्तर साथ, क्यानलाई ६० लाख सहयोगको घोषणा

सीजी फुड्सले अन्डर-१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान)लाई ६० लाख सहयोगको घोषणा गरेको छ । विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री रहँदै आएको कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रमबीच सहयोग घोषणा गरेको हो । चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सीइओ प्रदिप पुडासैनीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सीजीले वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट पनि बजारमा ल्याएको छ । वाइ वाइ चाउचाउले नेपाल दोस्रो पटक आइसीसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्य तथा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप सहयोग उपलब्ध गराएको बताएको छ ।

सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको बताएको छ । टी-२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको यो प्याकेट विशेष हुने कम्पनीको विश्वास छ । साथै, वाइ वाइको यस विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेटप्रेमीहरूमा उत्साह ल्याउने कम्पनीको अपेक्षा छ ।

यस अवसरमा विगत लामो समयदेखि पुरुष अन्डर-१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाड वाइले महिला अन्डर-१९ क्रिकेट टिमलाई समेत प्रायोजन वापत ३० लाख तथा अन्य क्रिकेट गतिबिधि संचालनका लागि ३८ लाख गरि जम्मा ६० लाख रुपैयाँ नेपाल क्रिकेट संघलाई सहयोग गर्ने छ ।

यसअघि वाइवाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर-८ मा पुग्न सफल भएमा ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रन वापत १ हजार, प्रत्येक चौका वापत ८ हजार, प्रत्येक छक्का वापत १२ हजार, प्रत्येक विकेट वापत १५ हजार, प्रत्येक अर्धशतक वापत ५० हजार, प्रत्येक शतक वापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा एक लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरिसकेको छ ।