सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि आजबाट बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको छ । मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन हिजोबाट आयोजना बन्द गरिएको हो ।
बागमती सभ्यता-एकीकृत विकास समितिसँग धाप ड्यामको पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने सहमति भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए । उनले हिजोबाट मेलम्ची खानेपानी आयोजना बन्द भएपछि आजदेखि धाप ड्यामको पानी वितरण सुरु भएको बताए ।
राईका अनुसार उपत्यकामा मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानी अभाव बढ्ने भएकाले आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक तीनदेखि चार करोड लिटर पानी ल्याउने सहमति भएको हो । उनले भने, ‘मेलम्ची खानेपानीबाहेक विभिन्न स्थानबाट यो सुख्खा मौसममा नौ करोड लिटर दैनिक उपभोक्तालाई खानेपानी वितरण हुन्छ, त्यसमध्ये ४० प्रतिशत भूमिगत पानीले कभर गर्छ । अब मेलम्चीको पानी बन्द भएपछि उपत्यकामा पानीको अभाव हुने भएकाले धाप ड्यामबाट पानी वितरण सुरु गरेका छौँ ।’
उनका अनुसार काठमाडौँमा दैनिक ४३ करोड खानेपानी माग छ । आवश्यकताअनुसार पानी आपूर्ति गर्न सकिएको छैन । बढ्दो जनसङ्ख्यासँगै भूमिगत पानी, पोखरी, ढुङ्गेधारा सुक्दै जाँदा उपत्यकामा खानेपानीको अभाव बढिरहेको छ ।माथिल्लो तटिय क्षेत्रमा पानी परिरहेको र अघिल्ला वर्षमा मेलम्ची नदीमा आएको बाढीले आयोजनाको ड्याममा क्षति पर्नुका साथै आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न हिजोदेखि आयोजना बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।


















