काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले सत्ता र शक्तिको आशक्तिले रास्वपा कमजोर बन्दै गएको जनाएका छन । उनले पार्टीप्रति माया र चिन्ता भएरै आफूले गम्भीररूपमा समस्याको कुरा उठाएको जिकिर गरेका पनि गरेका छन । उनले पार्टीको वर्तमान अवस्थाको बारेमा एक प्रतिवेदन तयार पारेका छन् । उपनिर्वाचनलगत्तै देशका विभिन्न क्षेत्रमा घुमेपछि उनले तयार गरेको प्रतिवेदनमा उनले पार्टीकोे जनमत कमजोर बनिरहेको भन्दै यस्तै हिसाबले अगाडि बढे रास्वपाको हालत पनि विवेकशील साझा पार्टीको जस्तो हुने विश्लेषण गरेका छन् ।उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको समेत उल्लेख गरेका छन् ।

















