अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितको सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको छ । नोभेम्बर ११ मा भएको टेलिफोन वार्तामा दुई देशबीचको सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । सन् २०२६ मा हुने एपेक शिखर सम्मेलनका लागि ट्रम्पको चीन भ्रमण र जी–२० शिखर सम्मेलनमा सहभागी हुन सीको फ्लोरिडा भ्रमणबारे पनि छलफल भएको थियो । दुवै पक्षले शान्ति र आणविक हतियार निःशस्त्रीकरणका लागि उच्चस्तरीय संवाद आवश्यक रहेकोमा सहमति जनाएका छन् । यस क्रममा रुससमेत सहभागी हुने त्रिपक्षीय बैठकको सम्भावना अघि सारिएको छ । यसअघि रुबियोले एपेक सम्मेलनका अवसरमा तीन नेताबीच भेटवार्ता गराउने प्रयास भइरहेको बताउनुभएको थियो । राष्ट्रपति ट्रम्पले पनि रुस–युक्रेन युद्ध अन्त्य र विश्वव्यापी आणविक निःशस्त्रीकरणका विषयमा सी र पुटिनसँग छलफल गर्न चाहेको बताउनुभएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की सहभागी नभए पनि युद्ध अन्त्यमा सहयोग पुग्ने भए आफू भेटवार्ताका लागि तयार रहेको उहाँको भनाइ थियो । चिनियाँ विदेशमन्त्री वाङले अमेरिकासँगको सम्बन्ध स्थिर राख्न सञ्चार र सहकार्य बढाउने तथा मतभेदलाई उचित ढङ्गले समाधान गर्ने चीनको नीति रहेको बताउनुभएको थियो । साथै, सन् २०२६ का एपेक र जी–२० सम्मेलन सफल बनाउन दुवै देशले एकअर्कालाई सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

















