प्रा.डा.सुरेन्द्र केसीद्वारा लिखित पुस्तक ‘स्मृति र अनुभूती’ विमोचन भएको छ । शुक्रबार एक कार्यक्रमबीच उक्त पुस्तक विमोचन गरिएको हो ।
कार्यक्रममा लेखक प्रा.डा.केसीले ५० लाखभन्दा धेरै जनसङ्ख्या देश बाहिर रहेको अवस्थामा मुलुकमा सङ्कट आए कसले बचाउने लगायत विषय पुस्तकमा समेटिएको बताए । उनले भने, ‘मैले विभिन्न विषय समेटेर यो पुस्तक लेखेको छु, विचार के हो ? सिद्धान्त के हो ? पुस्तकमा समेट्ने प्रयास गरेको छु ।’
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नयाँ पुस्तामा घर बेचेरै भएपनि विदेश जाने लहर चलेको धारणा व्यक्त गरिन् । उनले पछिल्लो समय युवामा कक्षा १२ पढेपछि जसरी पनि विदेश जाने मानसिकता हावी भएको उल्लेख गरिन् । उनले भनिन्, ‘विद्यार्थीमा मात्रै होइन अभिभावकमा पनि छोराछोरीलाई जसरी भए पनि विदेश पढाउने हुटहुटी चलेको छ, तर पहिले यस्तो थिएन ।’ उनले प्रा.डा.सुरेन्द्र केसीद्वारा लिखित पुस्तक ‘स्मृति र अनुभूती’ पठनीय भएको भन्दै पुस्तकमा समेटिएका विषय मननयोग्य भएको उल्लेख गरिन । २०१२ सालदेखि अहिलेसम्म कति ठूलो परिर्वतन आयो, पहिले र अहिलेको पढाइको अन्तर पुस्तकमा समेटिएको उनको भनाइ थियो ।
पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता भीम रावलले पुस्तक पढिनसकेको भएता पनि प्रा.डा.केसीको पुस्तक युवा पुस्ताका लागि उपयोगी हुनेमा विश्वस्त भएको राय व्यक्त गर्दै डा.केसीलाई शुभकामना दिए । पूर्वमन्त्री डा.प्रकाशचन्द्र लोहनी, लुम्विनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति तथा इतिहासविद् प्रा.डा.त्रिरत्न मानन्धर, सविता बस्नेत केसी, चिकित्सक सुन्दरमणि दीक्षितले केसीको पुस्तक ‘स्मृति र अनुभूती’बारे धारणा राख्दै शुभकामना समेत दिएका थिए ।
आयोजक सुनौलो नेपाल अनलाइनका कार्यकारी अध्यक्ष मोहराज पौडेलले त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेका प्रा.डा.केसी नेपालको राजनीतिक एवं सामाजिक क्षेत्रमा बुद्धिजीविका रुपमा स्थापित भएको बताए । उनले भने, ‘भ्रष्टाचार माथिबाट बढार्नुपर्छ भने झैँ प्रा.डा.केसीले भ्रष्टाचारजन्य विकृतका लागि ठूला नेतामाथि औला ठड्याउदै आउनुभएको छ । प्रा.डा.केसीको यस पुस्तक नेपाली समाज र राजनीति बुझन चाहने सबैका लागि महत्वपूर्ण दस्ताबेजमा विश्वास छ ।’



















