सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । प्रहरीका अनुसार लामो समयदेखि फरार रहेका यादव शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ परेका हुन् ।
उनलाई आजै जिल्ला अदालत महोत्तरीमा हाजिर गराइएको छ । उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं.४ (क)मा प्रदेश सांसद निर्वाचित हुन् । २०७९ को निर्वाचन अघि जसपाले उनलाई पार्टीबाट निष्काशन गरेपछि लोसपाबाट चुनाव लडेका उनी त्यसबेला पराजित भए ।
मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । अदालतमा मुद्दा चलिरहँदा उनी फरार नै थिए ।
महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो । एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका थिए ।


















