जिल्ला अदालत सर्लाहीले बालिकामाथि यौनजन्य कसुर गरेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय फैसला गरेको छ । सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको एक इजलासले बम्जनलाई १० वर्ष कैद र पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
गत सोमबार ‘तपस्वी’ बम्जनले बालिका माथि यौनजन्य कसुर गरेको ठहर गरेको थियो । सोही विषयमा सोमबार सजाय सुनाइएको हो । बालिकाको परिवारले सर्लाहीको लालबन्दी नगरपालिकास्थित पत्थरकोटमा रहेको आश्रममा रहेका बेला बारा जिल्लाको निजगढ नगरपालिका-१२ निवासी ३० वर्षीय बम्जनले यौनशोषण गरेको भन्दै २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा किटानी जाहेरी दिएको थियो ।
सोही मुद्दामा बम्जनलाई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-६ स्थित निवासबाटै गत पुस २४ गते साँझ सिआइबीको टोलीले पक्राउ गरेको थियो । पुस २६ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि बम्जन जिल्ला कारागार महोत्तरी जलेश्वरमा छन् । ‘लिटिल बुद्ध’ समेत भनिने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ । बम्जनविरुद्ध पाँच परिवारले उजुरी दिएका छन् । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोप छ ।


















