नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा आज बुधबार पनि दलको राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजमा आएका सुझाव पेस गर्ने कार्यक्रम रहेको छ । आज बिहान ११ बजे बस्ने बैठकमा दस्तावेजमाथि समूह नेताहरुले प्रस्तुति दिने कार्यतालिका छ ।
त्यसपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिने जनाइएको छ । उक्त दस्तावेजबारे प्रतिनिधिहरूलाई १२ समूहमा विभाजन गरी छलफल गरिएको छ । छलफलबाट आएका सुझावलाई बैठकमा टोली नेताले प्रस्तुत गर्ने छन् । समूहका टोली नेताको प्रस्तुति सकिएपछि दस्तावेज परिमार्जनसहित अनुमोदन हुनेछ । त्यसपछि नेतृत्व चयन प्रक्रिया सुरु हुने एकीकृत समाजवादीले जनाएको छ ।
देशभरबाट एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ भने २१ पदाधिकारी चयन गर्ने छ । विधान संशोधन गरी पार्टीको सम्मानित नेता, वरिष्ठ नेताको पद सिर्जना गरिएको छ । आइतबार सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि समापन हुने छ ।


















