नबिल बैंकद्वारा मानव सेवा आश्रमलाई उद्धार वाहन सहयोग

नबिल बैंक लिमिटेडले मानव सेवा आश्रमलाई दुई थान उद्धार वाहन उपलब्ध गराएको छ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले एक कार्यक्रमबीच काठमाडौंको बोहोराटारस्थित मानव सेवा आश्रमलाई दुईवटा वाहन हस्तान्तरण गरेका हुन् । उनीहरुले संयुक्त रूपमा गाडीको साँचो आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गराए ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न किसिमका अभियानहरू सञ्चालन गर्दै आएकोमा मानव सेवामा उत्कृष्ट काम गरेको यो आश्रमलाई सहयोग उपलब्ध गराएको जनाएका छ । साँचो हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष पौड्यालले मानव सेवा आश्रमको कार्य सराहनीय रहेको प्रतिक्रिया दिए । उनले यस्तो संस्थालाई नबिल बैंकले सघाउन पाउँदा खुसी लागेको बताए । बैंकका सिइओ ढुंगानाले मानव सेवा आश्रमलाई सहयोग गर्न पाउनु समाजप्रतिको दायित्व भएको र भविष्यमा पनि यस्ता कार्यहरूमा साझेदारी गर्न नबिल बैंक इच्छुक रहेको बताए ।

नायब प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले मानव सेवा आश्रमले बेसहारा बनेका मानिसलाई खाना, सुरक्षा र स्वास्थ्यजस्ता न्यूनतम मानव अधिकार सुनिश्चित गर्ने अभियानमा नबिल बैंक साझेदार हुन पाउँदा खुसी लागेको बताए । मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले उद्धार वाहनको अभावमा सडक आश्रित व्यक्तिहरूको उद्धार गर्न कठिन भएको अनुभव सुनाए ।

मानव सेवा आश्रमलाई विभिन्न तवरबाट सहयोग पुर्‍याउँदै आएकी गायिका आनी छोइङ डोल्माले लक्षित मानिसलाई सवारीसाधनको अभावमा आश्रममा ल्याउन र अस्पतालमा लैजान कठिनाइ भइरहेको बताइन् । उनले नबिल बैंकबाट प्राप्त सवारीसाधनले ती व्यक्तिहरूको जीवन बचाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने बताइन् ।

०६९ सालदेखि सञ्चालनमा आएको मानव सेवा आश्रमले सातै प्रदेशमा सेवा केन्द्र विस्तार गरी सात हजारभन्दा बढीलाई आश्रय दिएको छ । सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे जीवन बिताउन बाध्य व्यक्तिको उद्धार, उपचार र पालनपोषणका कार्यहरू दाताहरूको सहयोगमा गर्दै आएको आश्रमलाई नबिल बैंकको सहयोगले सेवाको गुणस्तर र गति बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अध्यक्ष अधिकारीले बताए । मंगलबार नबिल बैंकका पदाधिकारीहरूले आश्रममा आश्रित लाभग्राहीहरूलाई खानासमेत वितरण गरे ।