आज शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कुनै ओम्नी र गिरिबन्धुहरूको कलङ्क नबोकी सरकार चलाउन सकेको बताए । आफू विश्वासको मतको पूर्ण हकदार भएको दाबी गर्दै उनले आफू कुनै यति, कुनै ओम्नी कुनै गिरीबन्धुहरुको बोझ र कलंक नबोकेको प्रधानमन्त्री बनेर रकेर्ड राख्न सफल भएको दाबी गरे ।
उनले आफूमाथि लागेको अस्थिरताको आरोप सहेर पनि राजनीतिक भूमिकामा पद बाँड्न माहिर भएको बताए । सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको उनले बताए ।उनले भने, ‘सरकारले विश्वविद्यालयमा मेरिटोक्रेसीको प्रयास गर्यो । सरकारले जनतालाई सुशासनको ठोस अनुभूति दिने प्रयास गर्यो । देशको एउटा विशेष वर्ग कानूूनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास गर्यो । कुनै यति, कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको बोझ र कलङ्क नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण पेश गर्यो ।’
उनले अगाडि भने, ‘मैले संकल्प गरेको थिएँ, जनताको हामीप्रति एक ढंगको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्न म कृतसंकल्पित छु । सरकारले राज्यबाट जनतालाई प्रदान गरिने सेवाप्रवाहको सरलीकरणको प्रयास गर्यो ।’ प्रधानमन्त्रीका रूपमा आफूले सुशासनको सङ्कल्प गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जनताले आफ्नो देखाउने समय आएको बताए ।

















