एमाले र कांग्रेसको सहमतिले स्थिर सरकार बन्छ: रमेश लेखक

नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत लिने अवसरमा राखेका अधिकांश विषयमा आफ्नो असहमति रहेको बताएका छन् । साथै, उनले आज प्रतिनिधिसभा बैठकमा बोल्दै स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न एमाले कांग्रेस गठबन्धन बनेको बताए ।

१८ महिनामा प्रधानमन्त्रीले ६ पटक विश्वासको मत लिनु सरकार स्थिर हुनु हो त भन्दै प्रश्न गर्दै उनले एमाले र कांग्रेसको सहमतिको ठोस आधार मुलुकलाई ठिक ढङ्गले अगाडि लैजान सकिन्छ भन्ने व्यवहारिक र सैद्धान्तिक आधार रहेको र सरकारलाई स्थिर बनाउन सकिने बताए । आउँदा दिनमा एउटा प्रधानमन्त्रीले ३ महिनामा विश्वासको मत लिने अवस्था नहोस् भनेर सहमति भएको बताउँदै लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कांग्रेस एमालेबीच गठबन्धन बनेको उल्लेख गरे । कानुन बमोजिम सुशासन कायम गर्न र विकासका काम गर्न सहमति भएको उनको भनाई थियो ।

कांग्रेस र एमाले मिल्दा लोकतन्त्र कमजोर हुन्छ कि भन्ने अरुको पनि चिन्ता देखिएको भन्दै लेखकले भने, ‘आज सम्माननीय प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रुपमा रोष्टममा उभिँदा प्रमुख प्रतिपक्षी दलको ठीक नेताका रुपमा देखिसकेको हुँदा अब संसदमा प्रतिपक्ष कमजोर हुन्न कि भन्ने लाग्छ ।’ बरु प्रचण्डलाई ठीक जिम्मेवारी दिन नसक्नु गल्ती हो कि भन्ने लागेको उनले बताए । कांग्रेस प्रमुख सचतेक लेखकले भने, ‘यस्तो जबरजस्त प्रतिपक्ष दलका नेता हुनसक्ने व्यक्तिलाई लामो समय प्रधानमन्त्री बनाएर हामीले हिजो-अस्ती प्रतिपक्षलाई कमजोर गर्यौं कि र ?’ साथै, उनले संघीयता, गणतन्त्र, समावेशीता कमजोर नगर्ने भन्दै गलत भाष्य नबनाउन आग्रह समेत गरे ।