ढल्यो प्रचण्ड सरकार

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को सरकार ढलेको छ । उनले संविधानको धारा १००(२) बमोजिम आज शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । संसदमा कूल उपस्थित सांसदमध्ये विश्वासको मतको पक्षमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादीका गरी ६३ जना सांसदले मत दिएका थिए । यो कूल खसेको मतमध्ये २४.४१ प्रतिशत हो ।

सरकारमा सहभागी दल नेकपा (एमाले)ले असार १९ गते समर्थन फिर्ता लिएपछि प्रचण्ड अल्पमतमा परेका थिए । विश्वासको मतको विपक्षमा उपस्थित २५८ मध्ये १९४ जनाले मतदान गरे । तटस्थमा जम्मा १ मत परेको थियो । प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएसँगै प्रचण्डको सत्ता यात्रा टुङ्गिएको छ । प्रस्तावको विपक्षमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमतलगायत दलका सांसद उभिए ।

प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसयता गठबन्धन फेरबदल गर्दै प्रधानमन्त्री दाहालले शुक्रबार पाँचौं पटक विश्वास मत प्रस्ताव पेस गरेका थिए । यसअघि विश्वास मत पाउँदै आएका प्रधानमन्त्री दाहालले यसपटक विश्वासको मत जुटाउन सकेनन् र सत्ताबाट बहिर्गमन भए ।

गत असार १७ गते संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्नेलगायत सहमति बनेको थियो । त्यसपछि एमालेलगायत दलले समर्थन फिर्ता लिँदै मन्त्रीहरूले पदबाट राजीनामा दिएका थिए भने प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार विश्वास मत प्रस्ताव राखेका थिए । अब कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने प्रक्रिया सुरू हुनेछ ।