गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् । सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित त्यहाँ पुगेका अर्यालले थप प्रविधिबारे दातृ निकाय र विभिन्न देशका दुतावाससँग कुरा भइरहेको जानकारी दिए ।
उनले बेपत्ताको खोजी गर्न सरकारले प्रविधिसहितका पाँच सय सुरक्षाकर्मी र गोताखोर परिचालन गरिएको बताए । उनले भने, ‘यातायात व्यवसायीसँग समेत छलफल गरेर खोजीलाई कसरी तदारुकता दिन सकिन्छ भनेर लागेका छौँ । अहिलेसम्म पाँचवटा शव फेला परिसकेको छ ।’ उनले पानीको सतह घट्दै गएपछि आधुनिक उपकरण प्रयोग गरेर खोजीलाई तीव्रता दिइने बताए । सचिव अर्यालसहित प्रहरी महाननिरीक्षक वसन्त कुँवरलगायतको सुरक्षा टोलीले आजै दुर्घटनास्थलको स्थलगत निरीक्षण गर्ने जनाइएको छ ।
यही असार २८ गते बिहान ३:३० बजेको समयमा भरतपुर महानगरपालिका-२९ नारायगढ-मुग्लिन सडकखण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नं.को एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नं.को गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए । नदीमा बेपत्ता ६५ यात्रुमध्ये अहिलेसम्म पाँच जनाको मात्र शव फेला परेको छ ।

















