वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भनी ठगी गरेको आरोपमा तनहुँकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास-१२ कमलबारी निवासी ३८ वर्षीय मनुमाया थापा मङ्गलबार पक्राउ परेकी हुन् ।
थापाले भीमाद नगरपालिका घर भई हाल पोखरा महानगरपालिका-१ बगर निवासी ३८ वर्षिया रुपासरा रानालाई ठगी गरेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत रानालाई सम्पर्क गरी जापान पठाइदिन्छु भनी ठगी गरेको खुल्न आएको जिप्रका तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार आरोपित थापाले विभिन्न बैङ्क खातामा पैसा जम्मा गर्न लगाइ ७९ लाख ९७ हजार नौ सय १९ रुपैयाँ लिएकी थिइन् ।
प्रहरीले निजको साथबाट चार लाख ८० हजार रुपैयाँ र विभिन्न सात बैंकको चेक बुक बरामद गरेको छ । प्रहरीका अनुसार ठगीसम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।






















