विसं २०८२ आश्विन ८ गतेका दिन जीवन विज्ञानका संस्थापक श्रद्धेय एलपी भानु शर्मा गुरुदेवले उक्त संस्थाकासँग सम्बन्धित कल्याणमित्र प्रशिक्षकहरूलाई बडादशैं २०८२ को शुभकामना दिनुहुँदै नेपालमा भविष्यमा कुनै पनि अप्रिय आन्दोलन हुन नदिन आध्यात्मिक आन्दोलन एकमात्र सार्थक र सार्वभौम साधन हुने विचार प्रवाह गर्नुभयो। सोही विषयमा चिन्तन मनन गर्दै जाँदा यस आलेखले यो स्वरूप ग्रहण गर्न पुग्यो।
विसं २०८२ भाद्र २३ र २४ गते मुलुकले जेनजीको अगुवाईमा भएको आन्दोलन नेपालकै आन्दोलनको इतिहासमा विविध दृष्टिले पहिलो हुन गयो। युवा पुस्ताको नेतृत्वमा भएको सम्भवत: यो पहिलो आन्दोलन भयो। र, दुई दिनमा जनधन तथा अन्य भौतिक सम्पत्तिको क्षति जति भयो त्यति कहिल्यै पहिले भएको थिएन। मुलुकभर एकै समयमा सरकारी र निजी भौतिक संरचना जुन क्षति भयो त्यति कहिल्यै भएन। राष्ट्रका तीनै अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको संरचना नै तहसनहस भयो, यो पनि पहिलो नै थियो। राजनेता, हिजोका शासक, मठाधीश भएकाहरूको घरबंगला जलाइयो। हिल्टन होटल तथा मुलुकभरकै भाटभटेनीका स्टोरहरू जलाइयो, लुटपाट भयो। आन्दोलनको क्रममा यति भीषण आगजनी भएको पनि यो पहिलो नै हो। विभिन्न कारागार र प्रहरी हिरासतमा भएका कैदीहरु यत्रो संख्यामा भागेको पनि पहिलोपटक नै हो। दुई दिनमा नै सत्ता पल्टेको घटना पनि यो पहिलो नै भयो। यो आन्दोलनको क्रममा भएको हानि नोक्सानीको लेखाजोखा हुँदै छ, हुँदै पनि गर्ला। यस आन्दोलनको उपलब्धिका विषयमा अहिले नै बखान गर्ने समय भएको छैन, भविष्यले नै बताउला।
संसारमा आध्यात्मिक तवरले गरिएका आन्दोलनले समाज परिवर्तन गर्न सार्थक प्रयास गरेका थिए। बह्म समाज, आर्य समाज, रामकृष्ण मिसन जस्ता आध्यात्मिक संस्थाले समाजमा उल्लेख्य परिवर्तन ल्याएको पनि देखिन्छ।
विसं २०८२ भाद्र २३ गतेको आन्दोलन हुनुको तत्कालीन कारण सरकारले फेसबुक, म्यासेन्जर, ह्वाटस्याप जस्ता सबैजसो जनजीवनसँग गहिरो सम्बन्ध राख्ने सामाजिक सञ्जाल बन्द गर्न निर्णय गरेको आक्रोश थियो। जुनसुकै आन्दोलन हुनुमा मौलिक र तत्कालीन दुवै कारण हुन्छन् । मौलिक कारणले आन्दोलनको पृष्ठभूमि सिर्जना गरेको हुन्छ भने तत्कालीन कारणले आन्दोलनकमा विस्फोट ल्याउने हो। अत: मौलिक कारणको पहिचान, विश्लेषण र अन्वेषणबिना कुनै पनि आन्दोलनको वस्तुनिष्ठ मूल्याङ्कन गर्न सकिँदैन। संवत् २०८२ भाद्र २३ गतेको आन्दोलन एक्कासि चर्मोत्कर्षमा पुगेको हुँदै होइन, यसका लागि २०४६ सालदेखि नै सञ्चित असन्तुष्टि, अपेक्षा, आशा-निराशाले आन्दोलनको पृष्ठभूमि तयार गरेको थियो।
विसं २०६२-०६३ को आन्दोलनपश्चात् पनि मुलुकले कोल्टे फेरेन । शासक कहिल्यै दण्डित नहुने: दोषी कोरु भन्ने विषयमा २०८२ ज्येष्ठ २५ गते ‘सान न्युज’मा प्रकाशित लेखको निम्न अंश यहाँ उल्लेख गर्न प्रासङ्गिक छ:
विसं २०४६ सालपश्चात् नेपालको इतिहासमा नै पहिलोपटक जनता सार्वभौम भए । जनताका निर्वाचित व्यक्ति नेपालका वास्तविक शासन हुन पुगे । २०४६ सालदेखि हालसम्मका शासक प्रधानमन्त्रीमा कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र सुशील कोइरालाबाहेक सबैले राम्रा मात्र होइन नराम्रा पनि धेरै काम गरे। विसं २०४७ को निर्वाचनबाट नेपाली कांग्रेसले बहुमत प्राप्त गरी प्रतिनिधिसभामा ठूलो दलको नेताको हैसियतले गिरिजाप्रसाद कोइराला देशको प्रधानमन्त्री भए। उनले आफ्नो पार्टीको बहुमत हुँदाहुँदै पनि संसद विघटन गराई मध्यावधि निर्वाचन गराए । मध्यावधि निर्वाचनमा कुनै पार्टीको बहुमत आएन । एमालेको अल्पमतको सरकार बन्यो । अब ससाना पार्टीको हैसियत चुलिन गयो । हिजो पानी बराबर भएका गालीगलौज गरेर नथाक्ने तिनै पार्टीका नेताहरु पञ्चपाटीहरुसँग साठगाठ गरे। विसं २०४६ सालको आन्दोलनको मर्म र मार्गदर्शन विपरीत ठूला पार्टीमा कार्यगत एकता नै भएन। सत्तामा टिकिरहन राष्ट्रका र जनताका स्वार्थ र चाहनालाई लात मारे। यही सत्ता प्राप्त गर्ने स्वार्थको लडाइँबाट माओवादी मौलाउन सफल भए । यथार्थमा भन्ने हो भने माओवादी आन्दोलनलाई मलजल गर्ने नै ठूला पार्टीहरू भए।
विसं २०४६ सालको आन्दोलनबाट नेपाली जनतामा आएको उत्साह र गरेका अपेक्षाहरू सम्बोधन गर्न कुनै राजनीतिक पार्टीहरू पूर्णतया सफल भएनन्। भने अर्कोतिर सत्ता लिप्सा र राजनीतिक स्वार्थसिद्धि गर्न अख्तियारले गरेका दृश्य अदृश्य नीति र कार्यबाट जनतामा नैराश्य छाउन थाल्यो । जनभावना बुझ्ने, राष्ट्रिय आवश्यकता र हितको चिन्ता गर्ने प्रवृत्ति मठाधीशमा देखिएन। यस्तै उस्तै आन्तरिक परिस्थिति र बाह्य अदृश्य शक्तिको पुठबाट माओवादी आन्दोलन मौलाउँदा देशमा ठूलो सङ्कट आइलाग्यो । आवधिक निर्वाचन हुन सकेन यस्तो स्थितिमा काकतालीले राजा हुन पुगेका ज्ञानेन्द्रको महत्त्वाकाङ्क्षा बढ्दा उनले महेन्द्रपथको नीति लिए। ज्ञानेन्द्रको यस कार्यबाट सबै राजनीतिक पार्टी एक ढिक्का भई सशक्त आन्दोलन गर्दा राजाले घुँडा टेक्न बाध्य हुनुपर्यो । संसद् पुन:स्थापित भयो । राजा ज्ञानेन्द्रको श्रीपेच मात्र खोसिएन नेपालबाटै राजतन्त्र समाप्त भयो। काँक्रो चोरलाई मुड्के सास्ती हुनुपर्नेमा राजाले ठूलै सजाय पाए । यो परिस्थिति निम्त्याउने राजनीतिक पार्टीका मठाधीशहरु भने पानी माथि ओभानो भए।
विसं २०६२-६३ को जनआन्दोलन ९यसलाई नेपालको दोस्रो जनआन्दोलन भन्ने गरिएको छ, जुन कदापि होइन । नेपालको आन्दोलनको इतिहासको मर्म विपरीतको उक्त भनाइ यदाकदा नेताबाटै आउनु सुपाच्य हुँदैन।० पश्चात् मुलुकले कोल्टे फेरेन । राजनीतिक स्थिरता आउन सकेन । राजनीतिक पार्टीले राष्ट्रिय आवश्यकता र स्वार्थलाई ओझेल पार्दै आफै स्थापित भई सत्तामा रहन अनेकौं प्रपञ्च गरे । ठूला पार्टीका नेताहरूमा ब्रह्मनाल नपुगेसम्म अक्षुण रूपमा नाइके हुने नीति लिए र लिँदैछन्। माओवादी पार्टीले पनि जुन चाहिँ जोगी आए पनि कानै चिरेको आहान चरितार्थ बनायो । २०४६ सालदेखि हालसम्म राजनीतिक पार्टीका मठाधीशहरुबाट विगतमा गरेका कार्यहरूको मूल्याङ्कन कहिल्यै भएन। सत्तामा हुँदा एउटा कुरा बाहिर पुगेपछि अर्को कुरा गर्दा पनि जनता मूकदर्शक नै भए। आजको परिस्थितिको कारण हिजोका दिन पो राम्रा थिए कि भन्नेको जमात बढ्न थालेको छ। राजा दण्डित हुने, अन्य पुरस्कृत भइरहने वर्तमान राजनीतिले भविष्यमा ठूलै अनिष्ट आउन सक्छ।
नेताहरूको गलत कार्यको ढाकछोप गर्दै तिनैलाई देवत्वकरण गर्ने नेपालीहरूको मानसिकतामा परिवर्तन आउनै पर्छ। गलत गर्ने शासकलाई दण्ड दिन अब नेपाली जनता अग्रसर हुनुपरेको छ। देशमा यस्तो स्थिति आउनुमा जनताहरूले पनि आफ्नो कार्यप्रति पश्चाताप गरी प्रायश्चित गर्नैपर्ने हुन्छ। पार्टी खराब होइन। नेता असक्षम हुन् भन्ने भाष्यलाई चरितार्थ गर्ने कार्य पनि जनताकै हो। देशलाई अधोगतितिर धकेल्ने नेताको परलोक सुधार्ने कुरै छैन । यसै लोकमा पनि दण्डित हुनैपर्ने हो । हेरौँ – भविष्यले के भन्छ रु
संवत् २००७ सालदेखि हिजोसम्म नेपाल विभिन्न आन्दोलन, विद्रोह तथा शासकहरूको उत्थान र पतनको मूल चुरो पहिल्याई त्यसलाई सम्बोधन गर्न आवश्यक छ। नेपालमा भविष्यमा यस्ता प्रकृतिका कुनै राजनैतिक आन्दोलन आउन नदिने एउटा मात्र सक्षम र सार्थक आन्दोलनतर्फ देश अग्रसर हुनुपरेको छ, त्यो हो( आध्यात्मिक आन्दोलन। हालसम्म मुलुकमा आध्यात्मिक आन्दोलन गर्ने दिशामा सर्वाधिक प्राथमिकता नदिएकै कारण आन्दोलनहरूको बारम्बार पुनरावृत्ति भएको हो। आध्यात्मिक आन्दोलन भन्नाले धार्मिक आन्दोलन किमार्थ होइन, यो आन्दोलन भनेको जीवन र जगत् बुझाउने, विभिन्न महत्त्वाकांक्षा सम्बोधन गर्ने, सकारात्मक सोचयुक्त दिशामा अग्रसर गराउने, रचनात्मक सोचको विकास गर्ने, समाज र राष्ट्रप्रेमको भावना जगाउने, सबैको क्षेमकुशल चाहने, आफूलाई अनुशासनमा बाँधी सबैलाई अनुशासित हुन प्रेरित गर्ने, सबैको मंगलकामना गर्ने जस्ता अनेकौं मानव उपयोगी कर्ममा सरिक गराउने हो। नेपाललगायत संसारमा जेजति आन्दोलन भएका छन् ती अध्यात्मलाई ओझेल पारेकै कारणबाट भएका थिए भन्न सकिन्छ। आध्यात्मिक आन्दोलनपश्चात् सबै राजनीतिक मुद्दाहरूको सम्बोधन हुने र कुनै आन्दोलन नै नहुने भन्ने कुरा चाहिँ होइन तर आध्यात्मिक आन्दोलन सशक्त भएमा यस्ता घटनाहरू न्यून हुँदै जान्छन्। यसमा भने कुनै सन्देह नगरे हुन्छ।
संसारमा जति पनि राजनैतिक आन्दोलन भए त्यसको पछाडि राजनेताको अति महत्त्वाकांक्षाले प्रमुख भूमिका निर्वाह गरेको छ। नेपोलियन, मुसोलिनी, हिटलर, इदि इमिन लगायत धेरै शासकहरूको पतन महत्त्वाकांक्षा र त्यसको सम्बोधन गर्न नसक्दा भएको थियो। नेपालमा पनि बहादुर शाह तथा भीमसेन थापाको अवसान पनि महत्त्वाकांक्षाकै कारण भएको थियो। महत्त्वाकांक्षालाई सही दिशामा परिचालन गर्दा जङ्गबहादुर, चन्द्रशमशेर, कृष्णप्रसाद, मनमोहन, सुशील कोइराला जस्ता राजनेता सफल हुन गए।
यस पृष्ठभूमिमा हेर्दा हालैको आन्दोलनको एक प्रमुख मौलिक कारण राजनेताको महत्त्वाकांक्षा नै हो भन्न सकिन्छ। आफू मात्र सत्तामा टिकिरहन खोज्नु, प्रधानमन्त्री वा पार्टी प्रमुख पनि आफै हुने अनेकौं प्रपञ्च गर्नु जस्ता महत्त्वाकांक्षी प्रवृत्ति २०४६ सालदेखि नै सुरु भयो। नेपाली कांग्रेस, एमाले, माओवादी अथवा मधेशवादी दलमा उक्त रोगले आक्रान्त पार्यो। ब्रह्मनालमा नपुगेसम्म सत्तामै रहने लिप्साले युवा पुस्ता आक्रोशित हुन पुगे। ती नेताहरुप्रतिको आक्रोश उनीहरुको भौतिक सम्पत्तिको क्षतिबाट बुझ्न सकिन्छ। हो ती मठाधीशहरूको घरमा आगजनी र लुटपाट गर्न अन्य छद्मभेषी पनि पछि परेनन्। जनआक्रोशको आगो दन्किँदा लुटेराहरु रन्किन पाए। आध्यात्मिक चेत भएको भए महत्त्वाकांक्षालाई शमन गर्ने शक्ति पैदा हुन्थ्यो, यस रोगबाट मुक्त हुन्थे, सत्तामा टाँसिइरहने तानाबुना रच्दैनथे।
अध्यात्मले समाजमा सकारात्मक सोचको विकास गर्दछ। आजको जमानामा सूचना र प्रविधिको अभूतपूर्व विकासले गर्दा समाजमा सकारात्मक र नकारात्मक दुवै प्रभाव परेको छ। समाजमा सकारात्मक कार्यहरूको सूचना प्रवाहबाट खासै फरक परेको देखिँदैन तर सामाजिक सञ्जालमा देखापरेका नेताहरूको रहनसहन, साधारण जनताभन्दा पृथक् देखाउने चाहना, अरूको त्याग र योगदानको पनि नकारात्मक व्याख्याजस्ता कुराले नेताप्रति युवा पुस्ताको वितृष्णा बढेको देखिन्छ। सरकारविरोधी समाचार र गतिविधिप्रति मोहको वातावरण सिर्जना गर्न मिडिया पनि उत्तरदायी छन् । भाटभटेनीका मालिकले एमालेलाई चन्दा दिएको विषयमा भएको अवाञ्छित प्रचारप्रसार तथा हिल्टन होटल कुनै राजनैतिक पार्टीका मठाधीशसँग जोडिएको समाचार सम्प्रेषण भएबाटै तत् तत् स्थानमा त्यति ठूलो क्षति भएको हो। नेताहरूको नातावाद, कृपावाद, भ्रष्टाचार यत्र तत्र सर्वत्र राजनीतीकरण भएका जस्ता सूचना प्रवाह भए जसबाट जनताको मनोविज्ञानलाई ठूलो असर पर्यो।
नेता तथा प्रशासकहरूमा विरोधी भावनालाई दबाउने चाहना, चाटुकारहरूको डफ्फा सिर्जना गर्ने अनवरत प्रयास, आफ्ना कमजोरी लुकाई अब्बल देखाउने खालका समाचार प्रसारण हुँदा समाजमा नैराश्य छायो। सबै मिडियाहरूले जनता उत्तेजित बनाउने समाचारलाई प्राथमिकता नदिएको भए, भ्रष्टाचार र अव्यवस्थाका विषयमा जहाज नछोडेको भए युवा वर्ग त्यति आक्रोशित हुने थिएनन्। अध्यात्मले उत्तेजना, नैराश्य, विभाजन, विभेद पैदा गर्दैन। त्यसैले मिडियाका सञ्चालक र सम्बन्धित सबैले सकारात्मक सोचबाट समाचार सम्प्रेषण गरेको भए स्थिति अर्कै हुन्थ्यो। यसको मतलब मिडियाहरुले समाजका असंगति, राजनेताको कृत्यहरूको भण्डाफोर गर्न हुँदैन भन्ने होइन तर त्यस्ता समाचारहरूको सम्प्रेषण पनि सकारात्मक तवरले गर्दा पनि उत्तिकै उपलब्धिपूर्ण हुन्छ भन्ने हेक्का चाहिँ राख्नै पर्दछ।
आध्यात्मिक आन्दोलनबाट समाजमा कसरी अपेक्षित परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा क्रमश: यसै प्रकाशनका माध्यमबाट निरन्तर रुपमा चर्चा गरिने व्यहोरा पनि निवेदन गर्दछु।
क्रमश: ।।।।।




















