भिजिट भिसामा कुवेत पुर्याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ

भिजिट भिसामा एक महिलालाई कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा मोरङका एक व्यक्ति पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले रंगेली नगरपालिकाका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई बुधबार पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिकाबाट पक्राउ परेका अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलब ४० हजार रूपैयाँसम्म हुने काममा लगाइदिने प्रलोभन देखाई दुई लाख रूपैयाँ नगद लिई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएका थिए । भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पुर्याई दुबईमा रहेका अर्का अभियुक्तले रिसिभ गरी आफु बस्ने फ्ल्याटमा लगि बन्धक बनाई घरेलु काममा लगाई चरम श्रम शोषण र यौन शोषण गरी जबरजस्ती गर्भपतन समेत गराएका थिए ।

युएईमा भन्दा कुवेतमा राम्रो तलव हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाई २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्याई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई चरम श्रम र यौन शोषण समेत गरेको अनुसन्धानबाट खुलेको छ । पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रूपैयाँ रकम बुझाउन भनेपछि आफन्तमार्फत उक्त रकम बुझाई २०८० मंसिर ३ गते पीडित नेपाल फर्कन सफल भएकी थिइन ।

अधिकारीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।