दोलखा । दोलखा स्थित प्रसिद्ध भिमेश्वर मन्दिरको शिलामा आज शनिबार पसिना आएको छ ।शनिबार दिउँसा करिब १ बजेर २० मिनेट जाँदा देखी शिलामा पसिना आएको स्थानियले जानकारी दिए । पुरै भिमसेनको शिलामा पसिना आए राष्ट्र, राष्ट्रप्रमुख, सरकार तथा जनतामा अनिष्ट हुने बताईन्छ । शिलाको सवै भागवाट पसिना आए मुलुकमा ठूलै अनिष्ट हुने अनुमान गरिन्छ । दायाँवाट आउँदा राष्ट्र प्रमुख तथा सरकार र बाँयावाट आउँदा जनतामा अनिष्ट हुने जनविस्वास छ ।
भिमसेनलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सँख्यामा स्थानीयवासी र भक्तजन भेला भएका छन । भिमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने र शिलालाई चम्मरले हम्किने चलन छ । भिमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टा सहित सवै प्रकारका बाजाहरु बजाईन्छ ।
अनिष्ट टरोस भनेर पसिना आएपछि क्षमापुजा गर्ने चलन छ । संकट टरोस भन्दै राष्ष््ट्रपति कार्यालयबाट पठाएको पूजासामग्री सहितले दोलखा भीमेश्वरमा क्षमापूजा गरिन्छ । भीमेश्वरलाई पसिना आएपछि सो पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा पठाउने प्रचलन छ । क्षमापूजाका क्रममा १३ जना पण्डितहरुबाट लघुरुद्री गरिन्छ । लघुरुद्री गरिसकेपछि बलिपूजा गरिन्छ । त्यसमासरकारका तर्फबाट २ र स्थानीयको तर्फबाट २ गरी ४ वटा बोका बलि दिनुपर्ने प्रचलन छ ।

















